Shittalpati
मायादेवी मन्दिरमा एक करोड बढी भेटी संकलन

लुम्बिनी, बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानबापत एक करोड बढी भेटी संकलन भएको छ । मन्दिरमा राखिएका दानपेटिकाबाट एक करोड छ लाख ४० हजार भेटी संकलन भएको हो  ।

आर्थिक वर्ष २०८०/८१ अन्तर्गत दोस्रोपटक गरिएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । सड्ढलित दान पारदर्शी बनाउनेगरी गणनाको व्यवस्था मिलाइएको कोषले जनाएको छ । पछिल्लो समय लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । यसअघि कात्तिकमा खोलिएको यो आर्थिक वर्षको पहिलो दानपेटिका गणनाबाट ६४ लाख ७६ हजार नौ सय ६० संकलन भएको थियो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ ।

अहिले विदेशी पर्यटकको संख्या बढेकाले पनि दानबापतको रकम वृद्धि भएको कोषले जनाएको छ । सो दान रकम गणनालाई पारदर्शी बनाउन सिसिटिभी जोडेर कोषका पदाधिकारी, लुम्बिनीका सुरक्षा प्रतिनिधिको रोहबरमा गणना गर्ने गरिन्छ । गणना सुरु भएपछि हरेक दिनको गणना गरिएको दान रकम मुचुल्का उठाएर बैंकमा जम्मा गरिएको छ । लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रूपमा दानलाई लिने गरिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update