Shittalpati
पत्रकार महासंघ पाल्पा र पाल्पाली पत्रकारिता

गोविन्द भट्टराई
नेपाल पत्रकार महासंघ (स्थापनाकालमा नेपाल पत्रकार संघ) को स्थापना कृष्णप्रसाद भट्टराईको नेतृत्वमा वि.सं.२०१२ (चैत १६ गते) भएको थियो भने पाल्पा शाखाको स्थापना मेघराज शर्माको नेतृत्वमा वि.सं. २०४९ (पुस १९ गते) भएको हो । केन्द्रमा संस्थापक सभापति भट्टराईदेखि वर्तमान अध्यक्ष विपुल पोखरेलसम्म २३ जनाले नेतृत्व गरेको पाइन्छ भने पाल्पामा शर्मादेखि वर्तमान अध्यक्ष रेखीराम रानासम्म ६ जनाले नेतृत्व गरेको अवस्था छ । साधन, स्रोतको अभाव त्यसमाथि सरकारी सञ्चार माध्यममा कार्यरत (रासस, नेपाल टेलीभिजन र रेडियो नेपालको प्रतिनिधि) बाहेकलाई पत्रकार नठान्ने तत्कालीन परिवेशबाट हाम्रो समाज माथि उठे पनि हाम्रो कर्मले हामी प्रति समाजले औँला ठड्याउन थालेको छ । हाम्रा सवाल समाजलाई मार्गनिर्देश गर्न सक्षम थियो कुनै बेला भने अहिले हामी माथि सुचना प्रविधिको दास भएको अर्थात् कतैबाट परिचालित भएको भन्नेसमेत आरोप लाग्न थालेको छ । २० जना सदस्यहरुसहित स्थापना भएको नेपाल पत्रकार महासंघ पाल्पाको संस्थापक तथा २ कार्यकाल महासंघ शाखाको सभापतिको रुपमा शीर्ष नेतृत्वमा रहेर जिम्मेवारी वहन गरेका कारण पनि महासंघको स्थापना दिवसको अवसरमा महासंघ र पाल्पाल्पाली पत्रकारिताका विषयमा केन्द्रीत रहेर यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरेको छु ।

साधनस्रोतका हिसाबले पाल्पा पिछडिएको भए पनि रचनात्मक कामका कारण हामी नमूना शाखाको पहिचान बनाउन त्यति बेलैं सफल भएको सम्झँदा गर्व लाग्दछ । नेपाल पत्रकार महासंघका तत्कालीन केन्द्रीय सभापति किशोर नेपालले तानसेनमा आयोजित केन्द्रीय समितिको बैठकमा पाल्पा शाखालाई अनुशासित, मर्यादित नमुना शाखा भनेर घोषणा गर्नुभएको थियो । महासंघ पाल्पाको संस्थापक शाखा सभापति मेघराज शर्मा र उपसभापति झपेन्द्र गहिरे हुनुहुन्थ्यो । विनयकुमार कसजूको सत्य साप्ताहिकको कार्यालय रहेको तानसेन भगवतीटोस्थित कुडुँलेघरमा महासंघ पाल्पा शाखाको खाकाबारे प्रारम्भिक वार्तालाप भएको थियो । यतिबेला पाल्पा शाखाले ३२ औं स्थापना दिवस महासंघकै सभाहलमा भएको हो । पुस १४ गते (२०४९ पुस १४ मा भएको पत्रकारहरुको भेलाले तदर्थ समिति गठन गरेको दिनको सम्झनामा) पत्रकार मिलन तथा वनभोज कार्यक्रम आयोजना गरिएको थियो । स्थापनादेखि आजसम्म पाल्पा शाखाले विभिन्न गतिविधि सम्पन्न गरेको छ । क्रियाशिलताका कारण राजेशकुमार अर्याल अध्यक्ष रहेका बेला पुनः नमूना शाखाको रुपमा पाल्पा सम्मानित भएको छ । त्यसबारे छट्टै चर्चा गरौंला । संस्थापक सभापति मेघराज शर्मापछि २ कार्यकाल नेतृत्वमा रहँदा भए गरेका कामबारे स्मरण गर्ने अनुमति चाहन्छु । वि.सं. २०५३ मा शाखा सभापतिमा निर्विरोध निर्वाचित भएलगत्तै अग्रज तथा अन्य पत्रकारहरुको सहयोगसहित मेरो नेतृत्वमा पाल्पा शाखाले केही महत्वपूर्ण कामको थालनी गरेको थियो । विद्यालय अनि पत्रिकाको कार्यालयमा बैंठक बस्नुपर्ने अवस्था अन्त्य गर्न कार्यसमितिका साथीहरुले मासिकरुपमा रकम उठाएर शाखा कार्यालय सञ्चालन गरेका थियौँ । शाखाका गतिविधि, पत्रकारिताबारे लेखरचना प्रकाशनका लागि मुखपत्रको रुपमा चौमासिक बुलेटिन प्रवाह प्रकाशन २०५४ वैशाखबाट सुरु भएको हो । केही अंक नियमित रुपमा चौमासिक हिसावले र पछि फरक ढंगले यो प्रकाशनले हालसम्म निरन्तरता पाएको छ । महासंघको भवन निर्माणका लागि त्यतिबेला तानसेन नगरपालिकासँग कुरा गरेर घडेरीको टुंगो लगाइएको थियो । त्यसैगरी उत्कृष्ट पत्रकारिता पुरस्कार र सिर्जनशील पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापनाका लागि तानसेन नगरपालिका र तत्कालीन जिल्ला विकास समिति पाल्पाका नेतृत्वकर्ताहरु अशोककुमार शाही, झपेन्द्र जीसीसँग समन्वय र सहकार्य भएको थियो । सूचना प्रवाहका लागि फोनको व्यवस्थापनका लागि आन्दोलन समेत गरेका थियौँ । केन्द्रले भन्दा अगाडि नै हामीले पत्रकार कल्याण कोषको अवधारणासहित कोष सुरुवात गरेका थियौँ ।  अन्र्तक्रियात्मक वनभोज तथा सूचना संकलनका लागि स्थलगत भ्रमण अवलोकन कार्यक्रम सुरु गरिएको थियो । सवारी साधनको अभावमा रिर्पाेटिङ्गमा क्रियाशील पत्रकारहरुलाई (सीमित संख्यामै भएपनि) पश्चिम नेपाल बस व्यवसायी समितिसँग समन्वय गरेर निुःशल्क यात्रा पासको सुरुवात शाखाले गरेको थियो । यी लगायत विभिन्न रचनात्मक गतिविधिका कारण महासंघलाई साझा र समावेशी संस्थाको रुपमा पहिचान कायम गर्न सकेका थियौँ । हामीले सीमित साधन स्रोतका भरमा सुरु गरेका कामले त्यसबेला छिमेकी जिल्लाका शाखाहरुलाई समेत उत्प्रेरणा दिएको थियो । 

नेपाल पत्रकार महासंघ पाल्पामा झपेन्द्र गहिरे, भगवान भण्डारी, राजेशकुमार अर्याल र रेखीराम रानाको नेतृत्वसम्म आइपुग्दा भवन निर्माण, सीप विकासका लागि विभिन्न गतिविधि, महासंघको केन्द्रीय भेला र बैठक आयोजनालगायतका काम भएको पाइन्छ । ती कुराहरु पाल्पा शाखाको प्रकाशन प्रवाहले सुसूचित गराउँदै आएको छ  र गराउने नै छ । हामीले शाखा स्थापनाको क्षणमा संस्थापकहरुलाई सम्मान गर्दै असल कर्मका लागि आत्मसमीक्षा गर्नुपर्ने खाँचो छ । हामी पत्रकार, समाजले हामीलाई जिम्मेवार वर्गको रुपमा आदर गर्दछ यद्यपि कतिपय अवस्थामा प्रकट हुने हाम्रै बोली र व्यवहारका कारण आलोचित हुनु परेको छ । भनिन्छ, एक/दुईले पिर्ने सिंगो वर्ग पिल्सिने ! यो सन्दर्भ चौथो अंगको रुपमा परिभाषित पत्रकारहरुमा समेत लागू भएको पाइन्छ । मैले पटक–पटक भन्दै आएको कुरा पुनः यहाँ जोड्न चाहन्छु– सञ्चार क्षेत्रमा क्रियाशील व्यक्ति होस् वा संस्थाको वर्तमान गतिविधि, बोली अनि व्यवहार सार्वजनिक हित र जवाफदेहीताप्रति जिम्मेवार हुन सक्नुपर्दछ । मुलतः हामी पत्रकारहरुले यो तथ्य मनन् गर्न आवश्यक छ । समयसँगै हिड्न सकिएन, कमिकमजोरी सुधार्न सकिएन र व्यवहारमा सकारात्मक रुपान्तरण भएन भने हामी सचेत वर्ग भनेर कसरी भन्न सकिएला ? मनन् गरौँ । पाल्पा शाखाका संस्थापकहरु विनयकुमार कसजू, मेघराज शर्मा, गोविन्द भट्टराई, झपेन्द्र गहिरे, भरत शर्मा, गंगादेवी कसजू, मन गहिरे, देवीप्रसाद बस्याल, कृष्णप्रसाद आचार्य, दिनेशविक्रम थापा, बिष्णुकमार आचार्य, जुजुमोहन श्रेष्ठ, तेजबहादुर आलेमगर, मिनप्रसाद गैरे, श्रीकृष्ण नेपाल, डिल्लीराज अर्याल, प्रेम शाही, संघरत्न शाक्य, निर्मल न्यौपाने, जीवनप्रकाश नेपालको उत्तिकै भूमिका रहेको तथ्य स्मरण गर्दछौँ । संस्थापक सभापति मेघराज शर्मा, पूर्व सभापति गोविन्द भट्टराई, पूर्व अध्यक्षहरु झपेन्द्र गहिरे, भगवान भण्डारी, राजेशकुमार अर्याल र वर्तमान अध्यक्ष रेखीराम रानासँगै विभिन्न कालखण्डका कार्यसमितिका पदाधिकारीको मात्र होइन साधारण सदस्यहरुको समेत गहन भूमिका रहेको छ र रहन्छ । दिवंगत भइसक्नुभएका संस्थापकद्वय विनयकुमार कसजू र कृष्णप्रसाद आचार्यको गुन स्मरण गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

अन्त्यमा, विनम्र आग्रह छ—पुर्खाले गरेका असल कर्म इतिहासबाट सिकौँ, आन्तरिक तथा बाÞय सुझाव र गुनासा मनन् गरौँ अर्थात् सच्चिनु पर्ने भए सच्चिएर समुन्नत र सबल भविष्यको यात्रा तय गरौँ । सक्षम बनौँ, स्वाभिमानी बनौँ कसैको टीकाटिप्पणीको पात्र नबनौँ । नभुलौं, अहम वा क्षणिक आत्मतृष्टिका लागि हामीले सार्वजनिक रुपमा अभिव्यक्त तथा प्रशारण गर्ने आवाज, प्रकाशन गर्ने शव्द वा संकेतले हाम्रो निकृष्टतासमेत उजागर गरेको हुन्छ । यसर्थ, व्यावसायिकता वा पेसाका नाममा पत्रकारिताको धर्म र मर्मलाई नबिर्सौँ ।  
(लेखक नेपाल पत्रकार महासंघ पाल्पाका सल्लाहकार तथा पूर्व सभापति/प्रवाह बुलेटीनका संस्थापक सम्पादक समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update