Shittalpati
टोपी दिवसको औचित्य

राष्ट्रिय टोपी दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । टोपीलाई राष्ट्रियकरण गर्नको लागि दिवस मनाउनु राम्रै हो । तर पछिल्लो समय क्रिसमस र अंग्रेजी वर्ष मनाउन मरिहत्ते गर्ने नेपालीले आफ्नो मौलिक संस्कृति बिर्संदै गएको नेपाली नयाँ वर्षलाई महत्व नदिएबाटै प्रस्ट हुन्छ । जे होस् जस्तै भए पनि अंग्रेजी नयाँ वर्षकै दिन नेपालीहरुले टोपी दिवस मनाउनुलाई अन्यथा मान्नु हुँदैन । भलै, सामाजिक सञ्जालमा तस्बिर राख्न नै किन नहोस्, टोपी दिवस मनाउने युवा जमात बढिरहेको छ । नेपाली ढाका टोपी हाम्रो सान र मान पनि हो । नेपालीपन झल्कने पहिचान पनि ढाका टोपीले दिन्छ । ढाका टोपी लगाएर हिँड्दा नेपाली हुँ भन्ने छुट्टै गर्वानुभूति हुन्छ । दुर्भाग्य नै भनौँ, टोपी दिवस नागरिकस्तरबाट मनाइँदै आएपनि यसले राष्ट्रियरुपमा भने अझै मान्यता पाइसकेको छैन ।

टोपी दिवस मनाउनुको एउटा अर्थ आफ्नै संस्कृति तथा संस्कारको संरक्षणको रूपमा लिन सकिन्छ । किनभने नेपालीहरूले धेरै पहिले आफ्नो शिरवस्त्रको रूपमा टोपी लगाउँदै आएका छन् तर, पछिल्लो समय टोपी लगाउने चलन विशेष सभा समारोह वा कार्यक्रममा मात्र सीमित भएको छ । वृद्धहरूले टोपी लगाइरहे पनि युवायुवतीले भने कमै मात्र टोपी लगाउने गरेका छन् । यसकारण पनि आफ्नो संस्कृतिको रूपमा रहेको टोपी लगाउने चलन कतै विस्तारै हराउने हो कि भन्ने आशंका पनि बढ्दै गएका बेला  स्वस्फूर्त रूपमा जनवरी १ मा टोपी दिवस मनाउनुले टोपीप्रतिको आकर्षणले सकरात्मक सन्देश प्रवाह गरेको छ । यसर्थ अर्काको संस्कृतिमा रमाउनुभन्दा आफ्नै मौलिक संस्कृतिमा गर्व गर्न सकेमात्रै नेपाल र नेपाली संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन हुनुको साथै टोपी दिवस मनाउनुको औचित्य रहन्छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update