Shittalpati
जो जससँग सरोकार  छ 

  जगन्नाथ पन्त
 कसैलाई  धेरै क्षेत्र विशेषको चासो हुन्छ त कसैलाई थोरै  पनि  मतलव हुँदैन । यस लेखमा एउटै प्रसंग  र विषय होइन अनेक प्रसंग र क्षेत्रको चर्चाको जोरजाम गरिएको छ । सरोकार सम्बन्धित छ छैन पढेर आफै बुझ्नु होला । पहिलो अनुच्छेद सामान्य  सरोकारका छन् , अनि क्रमशः अलि गम्भीर प्रकृतिका ।

कुनै सञ्जाल  फ्रेण्डको  मोवाइल वालमा वर्षमा एकाध पोष्ट र कमेन्ट मात्र हुन्छ, कुनैले दैनिक सरदर १० बढी पोष्ट र  १०० औं लाईक कमेन्ट हाल्छन् । सरोकार आ–आफ्नै । दरकार नभएको विषयमा ज्यादा सरोकार रुचिकर हुँदैन । चिया पसल वा सडक चोक , विसौनी , प्रतिक्षालय र हिड्दा हिड्दै गन्य मान्य भेट्यो कि सँगै फोटो खिचेर पोष्ट गर्दै गन्यमान्यको तारिफ क्याप्सनले आफ्नो महत्व बढेको ठान्ने छन् कतिपय । यो अहिलेको फेसन भएको छ । ज्ञानी छौ ,असल छौ , समझदार छौ, सदैव राम्रो  गर्नु , पढाईमा अब्वल छौ भन्दै छोराछोरीलाई जन्म दिनको शुभकामना लेखेको बाउ–आमाको  पोष्ट नहेर्ने छोरा छोरीलाई अरुले पनि ह्यप्पी वर्थ डे लेख्छौं  ।  साथीको छोराछोरी  चिनेको त होईन तर सरोकार  छ नि बावु आमा त चिनेका छन् नि । बावु आमाले पनि साथी संगी कति जनाको  लाईक कमेन्ट  हुन्छ गन्नका लागि  सरोकार राखेर वालमा पोष्ट गरेका हुन भन्ने सरोकार लाग्छ यस पंतिकारलाई । अझ इन्टरनेट आवश्यक नहुने टुकटुके मोवाईल मात्र भएका वा मोवाईल नै चलाउन नजान्ने बाउआमालाई यति वर्ष लाग्नु भयो भन्दै अनेक सम्मानजनक शब्द र राम्रो  फोटो हाल्ने  तर भेट्न र हेरचाह गर्न नपरोस् भनेर तर्कनेले हालेका पोष्टमा पनि नछुटाई कमेन्ट लाईक गर्नु हाम्रो जो सरोकार छ  त्यो सम्बन्धित बाउआमाको सरोकार नहुन पनि सक्छ । सँगै बसेका सन्तानले  दैनिक गर्ने सेवा भन्दा आधा घण्टा भेट्न जादा एउटा केराको कोसो  र सन्चो विसन्चो सोधेर मिठो–मिठो खानु होला, दुःख  नगर्नु होला भनेर महिनौ लापत्ता हुने सन्तान  र तिनका प्रजाति प्रतिको लगाव र प्रसंशामा अचम्मको सरोकार  हुनु  बुढ्यौलीको गुण हो । अपवाद बाहेक यस्तो लगाव सबै वृद्धवृद्धाको सरोकार हो, यसको वा उसको भन्ने नै छैन् सम्बन्धितले होइन  सरोकार भन्न गाह्रै पर्ला ।  अझ त्यसरी आकल झुकल भेट्नेले  गर्ने खातिरदारीको अपेक्षा  सरोकार  कस्तो हुन्छ भन्ने सम्बन्धितले बाहेक अरुले सरोकार गर्ने विषय पनि त होइन  नि । तिमी मेरो जीवनमा आयौं र म भाग्यमानी भए , यस्तै के के जाति लेखेर विवाह वर्षगाठको शुभकामना वालमा  दिने लोग्ने स्वास्नीले प्रत्यक्षमा मेरो फुटेको कर्म तसँग परेर दुख पाए भनेर लाप्पा खेलेको अरुलाई सरोकार नहुने भएरै ह्याप्पी एनिवर्षरी वोथ अफ यु , नाइस कपल भनेर शुभकामना र  बधाई  दिन्छौ नि उनका झगडामा के को सरोकार । यस्तै, उस्तै अनेक कार्यमा साथीले वालमा प्रेषण गरेका  विषय अरुका पनि सरोकार भएर त होला अहाँ ! भेरिनाईस भन्न परेको । अरुको खुसीमा रमाएझै गर्ने हाम्रो सरोकार सबको भन्दा राम्रो  छ ।  खुसी नहुनेले प्रसंशा  नगरे उसैको आत जल्ने हो , मन ,तन ,आत जे जे जलेनि जलोस् हाम्रो  सरोकारको विषय रहेन ।

 अवधिरणा क्वा कार्य , परनिन्दायधनेषु च । अरुको झगडा र धनको निन्दो चर्चो नगरौं भो ! अब लागौं खास सरोकार तिर । हामीसँग जीवनका दुईवटा मात्र बाटो छन् । जीवित रहँदा स्वआर्जन वा हक वापत जे जति कमाई हुन्छ र बचेको हुन्छ  त्यो सबै कि कसैलाई दिएर जानु पर्छ कि कसैलाई छोडेर जानु पर्छ । निधन भएपछिसँगै लैजान सकिदैन । प्रकृतिले जीवात्मालाई यो भन्दा अर्को कुनै विकल्प दिएकै छैन । यो अकाट्य , सास्वत सत्य हो । मनुष्यले यो देखेको, भोगेको र चेतेको  बाटो हो, तर त्यहि दिएर वा छोडेर मृत्युसँगै  नाङ्गै जाने हो शरिर भनेर जान्दा जान्दै पनि अनेकन अनुचित बाटोबाट पनि कमाउन उद्धत हुनु नै मानिसको ठूलो अवगुण हो । आफ्नो वंशका सन्तान प्रतिको स्वभाविक जिम्मेवारी अनुसार केहि हदसम्म जोगाई दिनु , जोडिदिनु कर्तव्य हो । तर अनावश्यक, गैरकानूनी तवरले जोड्नु, फजुल खर्च गर्नु , सञ्चय गर्नु , अरुलाई असुविधामा पार्नु , अरुको भाग हसुर्नु मनुष्यत्व होइन । वैभब  अन्तः त छोडेरै  जाने हो । दिएर जाने कमै हुन्छन् । तर यस, कृति , सिर्जना भने  छोडेर पनिसँगै लिएर वा जीउँदै पनि दिएर जान्छ  विवेकिले । कहिले काही वाध्यताले छोडेको विरासत पनि नयाँ योगदान हुन पुग्छ ।

 भत्तृ नामका ऋषि , ऋषि हुनु पूर्व चक्रवर्ती सम्राट थिए रे । उनले एक जना सन्तबाट एउटा फल पाए छन् , जुन फल खाने व्यक्ति तेजस्वी हुने छ । उनले त्यो फल आफ्नी सबैभन्दा प्रिय रानीलाई दिएछन् । रानीले आफ्नो प्रियतम गार्डलाई दिइछन् , जसलाई उनी प्रेम गर्थिन, तर गार्डले उनलाई भन्दा दरवारकी नर्तकिलाई प्रेम गर्दो रहेछ । उसले फल नर्तकिलाई दिए छ । नर्तकिले फल राजालाई दिइछन् । उनले राजालाई प्रेम गर्दि रहिछन् । यसरी घुमिफिरि फल आफैसँग पुगेपछि राजाले तहकिकात गरे छन् र  सत्य पत्ता लागेपछि विरक्त भए छन् । अनि राजाको पद भाइलाई दिएर तपस्वि बने छन् । बडा महाराजा पृथ्वी नारायण शाहले  विशाल  नेपाल निर्माण गरेर छोडेकाले हामी नेपाली भएका छौं । राजा महेन्द्रले जस्तै आफै  शासनको बागडोर हडपेर रम्न खोज्दा  जीवितै भएर पनि पूर्वराजा हुनु परेका ज्ञानेन्द्रले गणतन्त्र दिएर गुन लगाउनु भएको छ । चुपचाप राजा बनेर बसेका  भए तत्कालिन   यु्द्धरत माओवादी  र  राजनीतिक  दल मिल्ने थिएनन् । गणतन्त्र आउने थिएन । राजनीतिक दल र नेतालाई  असक्षम करार गर्दा सदाका लागि राजसंस्था सत्ताच्युत हुनुमा पूर्व राजाको निरङ्कुश , निर्दलिय बाटोको सोच जनआन्दोन र जनविद्रोहको आगोमा घ्यूू थपिन पुग्यो । एउटा राजाले आर्जेर राष्ट्र दिनु भयो , अर्कोले राजसंस्था बुझाउनु भयो ।  दिएर वा छोडर जानु पर्ने ,सहनु पर्ने चेतको  सरोकार  दल , संस्था वा व्यक्तिले सहि परख गर्न नसकेमा नयाँले खोसेर लिन्छन् भन्ने बुझे मात्र हाम्रो  दरकारको सरोकार सहज हुने थियो । वडा महाराजाले चार जात छत्तिस वर्णको साझा  फूलबारी  उपमा सबै नागरिकको अपनत्व होस् भनेर भन्नु भए होला । तर अपुङ्गाको मनपरी विचरणले हाम्रो बगैचा उदाङ्गो बनाई दिए । जो पनि टहल्ने फूलबारी होइन , पुग्न  रहर लाग्ने आकाश जस्तो अगम्य बलियो राष्ट्र बनाउने सरोकार राख्न विलम्व भयो । राणा शासनमा  सबै कर  नछोडी उठाउने , तर कति उठ्यो र केमा खर्च भयो भनेर देखाउन नपर्ने अर्थात् कच्चा नछोड्नु , जम्मा नजोड्नु भन्ने थियो रे । राज्यको सम्पत्ति  र पद राणाका आफन्तको लागि थियो । जहानमा सीमित भएकाले जहानीय भनियो । अहिले गणतन्त्रमा पनि जहानीय अग्राधिकार हटेको छैन् । त्यसैले बेला –बेलामा स –साना भए नि  दुर्गा  प्रदर्शन हुनु स्वभाविक हो । तर जसलाई आऊ आऊ भनेको हो ,उहाँका पालामा पनि सबै उद्यम उहाँकै नाममा थिए । अहिले पनि खलासीले रत्न पार्क, आरएनएसी भनेर फलाक्छ । तिनको आम्दानी उहाँकै  हुन्थ्यो । कसैले उद्योग खोल्दा २० /२५ प्रतिशत शेयर विना लगानी  उहाँले  भनेका लाई नदिई अनुमति हुँदैनथ्यो । उहाँको  आम्दानी करमुक्त थियो । करवट लिन नसक्नेलाई पनि सलाम गर्न पथ्योै । आउन रहर गरेकाले अहिले जाजरकोट र रुकुममा कति थान कम्मल र टेण्ट अनि जस्तापाता र अन्नपात कति बाडिवक्स्यो  । यसको सरोकार नराखी  के केन देलान भनेर पछि लागेर नारावाजी गर्नेले वित्थामा अश्रुग्यांस नखाएर ऋण मिनाह खालान र ?

११ देशसंँग मात्र श्रम सम्झौता भए पनि १४४  भन्दा बढी देशमा श्रमिक  बनेर नेपाली जानु दुःखद  हो । भोको पेट र खाली खल्ति भए पछि पराइको नोकर बन्न तयार भएका हुन् वा धनी बन्ने चाहानाले हो रसियाको नागरिकता र धेरै तलव पाउने प्रलोभनमा युद्धको समयमै  रसियन सैनिक बनेर मारिने अवस्थाको दरकार किन भयो भनेर सरकारले खवरको सरोकार आफै पाउन  नसक्ने अवस्थाका छौ हामी । विगतका गल्ति सुधार गरेर भविश्य प्रति आशावादी हुने  हो र भविश्य सुध्रिने आशाले वर्तमानमा अवसर  देख्ने हो । आज अवसर नै नरहे पछि निराशाले मुग्लान पुर्याउने हो । अध्यारोमै तारा चम्कने हो भनेर चित्त बुझाउन उज्यालो पनि त हुनु पर्यो नि । उज्यालो झन् अन्धकार छ भने हुने त उकुस मुकुस नै हो । नगदमा दुध विक्री  गर्ने तर कृषकबाट किनेको दुधको मोल  तिर्न नसक्ने सरकारी डेरी , उखुको मोल नदिने सुगर मिल , पतञ्जलीको घ्यू खोजी  खोजी किन्ने , १५० रुपैयाँमा चिनी किन्ने अवस्थाको सरोकार कसले गर्ने ?  भूकम्पले मार्न नसकेका जाजरकोट र रुकुमका ३४ बढी जनता न्यानो कपडा र छानो नहुँदा  चिसोले मरे रे भनेर समाचार सुन्नु पर्नेले अरु अत्यावश्यक पूर्तिको दरकार गर्ने सरोकार कसरी अपेक्षा गर्ने ? तोकिए भन्दा कैयौ गुणा समय र लागत लगाएर जेनतेन सञ्चालन भएको मेलम्ची खानेपानी आपुर्ति बन्द भएको ७ महिना हुँदा पनि पुनः सञ्चालनको चाइचुइ नै छैन । ४५ –५० लाख जनसङ्ख्या  बस्ने काठमाडौं उपत्यकालाई काकाकुल बनाउने कार्य लाजमर्दो हो । यसमा त सरोकार हुनु पर्यो नि ? पानी बगेर खेर गईरहेको छ , महशुल बगेको छ , ट्याङ्करमा महँगो मुल्यमा कम गुणस्तरको पानी प्रयोग गर्नु परेका जनताको सराप लाग्ला कि भनेर अस्थायी बाध बाधेरै भए पनि असोजमै पानी वितरण  गर्नु पर्ने हो , खै सरोकार सरकार ? २०८०/०८१ छोडेर मान्छेहरु मिसन ८४ भन्न थालेका छन् । उनीहरुका लागि मिसन ८४ सरोकार होला तर धेरैलाई मिसन ८० नै सरोकार हो ।  ८४ मा तिमी हाम्रो दरकारका हुन त ८० मा तिमीले हामीलाई सरोकार गर्न पर्‍यो नि ? उल्लेखित मन्थन यहाँहरुसँग सम्बन्धित रहे रहेनन् ? प्रतिक्रिया पाए आभारी हुने थिए ।


 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update