Shittalpati
महिनावारीमा विभेद नगर

नेपाली समाजमा महिनावारीलाई ‘छुई हुनु’, ‘पर सर्नु’, ‘पाखा लाग्नु’, ‘पन्छिनु’, ‘बाहिर सर्नु भन्ने गरिन्छ । केही ठाउँहरुमा महिनावारी भएका बेला महिलाहरूलाई छाउगोठमा बस्नुपर्ने बाध्यता मात्रै छैन  विभेद समेत सहनुुपरेको छ । संविधानले महिलालाई विभेदरहित बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि अझै पनि अधिकांस महिलाहरु विभेदको सामाना गर्न बाध्य छन् । महिनावारीका कारण किशोरी÷महिला माथि गरिने विभेद, लाञ्छनाहरुलाई मर्यादित बनाउने उद्देश्यले हरेक वर्ष ८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको रुपमा मनाउने गरिन्छ । शुक्रबार पनि नेपालसहित विश्वभर यो दिवस मनाइएको छ, तर पनि महिलाहरुले त्यो विभेद सहनुु परेको अवस्था कायमै छ । विभेदविरुद्ध कानुनी उपचार खोज्ने र महिनावारीलाई स्वाभाविक रूपमा लिने मानसिकता बनाउनेबारे कसैले पनि चासो दिएका छैन । दिवस मनाइने गरे पनि महिनावारीलाई मर्यादित बनाउने सम्बन्धी बहस भने कमै हुने गरेका छन् । यो विडम्वनाको कुरा हो । महिनावारी भएका महिलालाई अशुद्ध, फोहोर र अपवित्र मान्ने अन्धविश्वासका कारण महिलालाई विभिन्न पारिवारिक, सामाजिक, साँस्कृतिक र धार्मिक कार्यक्रमहरूमा भाग लिन बञ्चित गरिन्छ । २१ औं शताब्दीमा आएर पनि यस्तो हुनु राम्रो होइन ।  

महिनावारी स्त्री शरीरको प्राकृतिक भाषा हो । तर, यसलाई अनेक भ्रान्ति र अन्धविश्वासका कथा जोडेर स्त्री शरीर र मनोविज्ञान माथि शासन गर्ने चक्रव्यूहलाई तथाकथित परम्पराको नाम दिइयो । महिलाको शरीरबाट महिनाको एक चक्रका हिसाबले प्रजननयोग्य उमेरभरि निस्कने रगत जैविक रूपमा जति स्वाभाविक छ, सांस्कृतिक रूपमा त्यति नै दुःखदायी र मर्मान्तकारी छ । महिनावारी भएका बेला छाउगोठमा बस्नुपर्ने भएकाले जीउज्यानकै असुरक्षा हुने, बलात्कृत हुने, मृत्यु हुने जस्ता भयावह घटनाका कारण यो परिवार वा समाजको मात्रै होइन, देशकै प्रतिष्ठासँग गाँसिएको प्रकरण बनेको छ । यसले स्त्री शरीर माथिको साँस्कृतिक उत्पीडन समाजको साझा चिन्ताको विषय हो भन्ने कुरालाई सबैले आत्मसात् गर्न आवश्यक छ । यसर्थ महिनावरीको अवस्थालाई स्वभाविक प्रक्रियाको रुपमा लिएर महिलाहरु सम्मानजनक रुपमा समाजमा बाच्न पाउने अधिकार सुुनिश्चित गर्ने विषयमा सरकार र नेपाली समाजले सोच्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update