Shittalpati
सुरक्षाको माग गर्दै चिकित्सकहरु धर्नामा

बुटवल, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले चिकित्सक माथि हातपात गरेपछि चिकित्सकले सुरक्षाको माग गरेका छन् । सोमबार सुत्केरी हुन भर्ना भएकी गुल्मीको सत्यगती गाउँपालिका–२ ठूलोलुम्पेककी ३२ वर्षीया भवानी रासकोटीको मृत्यु भएपछि आफन्तहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र बस्यालमाथि हातपात गरेका थिए ।

बस्याल माथि आक्रमण गर्नेलाई कारवाही र सुरक्षाको माग गर्दै चिकित्सकहरुले बिहीबार इलाका प्रहरी कार्यालयमा धर्ना दिएका हुन् । अस्पतालमा काम गर्न असुरक्षा भएको भन्दै उनीहरुले प्रहरी समक्ष सुरक्षाको माग गर्दै धर्ना दिएका छन् । सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मंगलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो । ति महिलाले अस्पतालमै शल्यक्रियामार्फत ५ किलोको बच्चा जन्माएकी थिइन् । बच्चा सकुशल छन् । सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट बस्यालमाथि कुटपिट गरेका थिए । कुटपिटबाट टाउको र पेटमा चोट लागेका मेसु बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयूमा उपचार भईरहेको छ । 

चिकित्सक कुटपिट गर्नेलाई कारवाही र सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ, नेपाल मेडिकल एशोसिएशन, नेपाल फार्मेसी संघ, नेपाल स्वस्थ्य प्राविधिक संघ (पान), मेलान, निजी अस्पताल व्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन स्वस्थ्य संस्थामा आवद्ध स्वास्थ्यकर्मीहरुले धर्ना दिएका हुन् । कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले जानेर बिरामीको ज्यान जोखिममा पार्ने नभई बिरामीलाई निको बनाउने प्रयासमा रहने भए पनि आफूहरूमाथि हातपात हुनु दुखद् भएको चिकित्सकहरु बताउँछन् । बिरामीका आफन्तहरूको सहयोगले नै बिरामीहरूको उपचारमा सघाउ पु¥याउनुपर्नेमा उनीहरु संवेदनशील नबन्दा आफूहरू असुरक्षित भइरहनु परेकोले धर्ना दिन बाध्य भएको धर्नामा सहभागी चिकित्सहरु बताउँछन् । चिकित्सकहरु धर्नामा गएपछि बिरामीहरुको उपचार सेवा प्रभावित भएको थियो । विवादका क्रममा चिकित्सक माथि हातपात गर्ने मृतकका आफन्तमध्येका ७ जनालाई  प्रहरीले नियन्त्रणमा लिइएको छ । मृतकमा आफ्न्तहरुले पनि चिकित्सकको लापरवाहीले मृत्यु भएकाले सत्य तथ्य छानविन गरी  दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताउँदै आएका छन् ।  

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update