Shittalpati
आँधीखोलामा पुल बनेपछि चार जिल्लालाई सहज

गल्याङ (स्याङजा), कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्ड अन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो ।

यहाँका स्थानीयहरु उच्चस्तरको स्वास्थ्य सेवा लिन, व्यापारीका लागि मालसमान ढुवानी गर्न सेतीवेणी–मिर्मी सडक खण्डमा पर्ने खबरको वनको पैदलमार्ग प्रयोग गर्दै आएका थिए । निकै पुरानो मानिएको सेतीवेणी बजार, पुर्तीघाट बजार, बाग्लुङको छिस्दीलगायत व्यापारीले दुई दशकअघिसम्म भरिया लगाएर खबरको वनको बाटो मालसामान ढुवानी गर्ने गरेको पाइन्छ ।

कालीगण्डकी लोक मार्ग अन्तर्गत गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका जोड्ने सेतीवेणी–मिर्मी सडक खण्ड १० किलोमिटर दूरीमा अवस्थित छ । यही सडक खण्डलाई जोड्ने गरी रायमाझी÷ राजेश्वरी÷पिटिआर अधिकारी जेभीले आँधीखोलामा ट्रस ब्रिज निर्माण गरेको इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिए । उनले हाल पुल निर्माण सकिएर सर्वसाधारणका लागि खुल्ला गरिएको बताए । आचार्यका अनुसार पुल नौ करोड ६२ लाख ७९ हजार ९३ ठेक्का सम्झौता भएको थियो । अहिले स्याङजा–पर्वत खण्डको सडक निर्माणले तीव्रता पाएको छ । स्याङजा–पर्वतको ५३ किलोमिटर मध्ये सेतीवेणी–मिर्मी सडकको काम महादेव खिम्ती÷ आन्जना÷पराजुली जेभी लम्जुङले निर्माण जिम्मा लिएर अगाडि बढाएको छ । ‘निर्माण कम्पनीले सडक चौडा, नाली निर्माण, तेवा पर्खाल र कालोपत्र गर्ने गरी २०७७ साल भदौ १२ गते सझौता गरेको थियो’, इन्जिनियर आचार्यले भने, ‘साढे दुई वर्षमा सक्ने गरी  १ करोड ९८ लाख छ हजार एक सय ९० ठेक्का सम्झौता भएको थियो ।’ 

विष्फोट गरेर बाटो निर्माण गर्नुपरेकाले काममा ढिलाइ भएको र एक वर्ष समय थपेर काम अगाडि बढाएको आचार्यको भनाइ छ ।  मिर्मी सेतीबेनी सडककै तीन किलोमिटर सडक निर्माण काष्ठमण्डप÷कली÷मनकामना जेभीले आठ करोड ८६ लाख ८७ हजार सात सय ७१ ठेक्का सम्झौता गरेको उनले बताए । आँधीमुहानका स्थानीय टीकाराम कँुवरले खबरको वनमा मोटरबाटो नहुँदा र आँधीखोलामा पुल नहुँदा स्याङ्जा, पर्वत, गुल्मी र बाग्लुङका लाखौँ जनताले भिरको साँघुरो र अफ्ठ्यारो बाटोेमा वर्षौं जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए । ‘पुल नहुँदा धेरै समय खर्चेर लामो बाटो प्रयोग गर्न यहाँका नागरिक बाध्य थिए’, उनले भने,‘पुल निर्माणपछि अकालमै ज्यान जाने समस्या टरेको छ, धेरैको पैसा र समय बचत भएको छ ।’ सेतीवेणीका व्यापारी शोभाखर तिवारीले आँधीखोलामा पुल निर्माणपछि दक्षिणी पर्वतका नागरिकको सपना पूरा भएको बताए । उनले पुल निर्माणले बर्खाको समयमा बिरामी बोकेर हिँड्न, पाल्पा, बुटवल, नारायणगढ जान सहज बनाएको बताए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update