Shittalpati
गुल्मीका किसानलाई बाली भित्र्याउने  चटारो

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाका किसानहरु बाली भिर्याउने चटारोमा छन् । यतिबेला खेतबारीमा गहुँ पाकेको छ । गहुँ स्याहार्न मै किसानहरु व्यस्त छन् । देश लकडाउनमा छ, तर पनि ग्रामिण क्षेत्रका किसानहरु खेतबारीको काममै व्यस्त देखिएका छन् । यो समय उनीहरुले बीउ लगाउने र कृषिजन्य उत्पादित वस्तुहरु घरभित्र स्याहार्नमै व्यस्त देखिएका हुन् ।

विश्वव्यापीे माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन नेपाल सरकारले लकडाउन जारी राखेको छ । लकडाउनका कारण शहरका मानिसहरु आफ्नो महत्वपूर्ण काम बाहेक अनावश्यक बाहिर निस्केका छैनन् । तर ग्रामीण क्षेत्रका किसानहरु भने लकडाउनको कुनै प्रवाह नगरी खेतीपातीमै व्यस्त छन् । खेतबारीमा कसैले मकै लगाउँदै छन्, कोही गहुँ काट्दै स्याहार्नमै व्यस्त, कोही धानको ब्याड राख्ने त कोही धान रोप्नमै व्यस्त । त्यत्ति मात्र होइन गाउँमा वर्षभरी पुग्ने गरी दाउरा काट्ने समय भएकाले कोहीं दाउरा खोज्नमा व्यस्त छन् । घरदेखि बाहिर रहेकाहरु पनि अहिले सबै आ–आफ्नो घरमा आएका छन् । एक किसिमले सबै परिवारसँग सँगै बस्दा गाउँमा रमाईलो पनि छाएको छ । सबै आ–आफ्नो काममा व्यस्त भएकाले पनि लकडाउनको समय वितेको पत्तै नहुने किसानहरु बताउँछन् ।

जिल्लाको मदाने गाउँपलिका १ अग्र्लुका रेमबहादुर बिक यतिबेला कृषिजन्य उत्पादित वस्तुहरु स्याहार्न, बारीमा मल फाल्न, मकै लगाउन निकै नै व्यस्त देखिएका छन् । उनी पहिले जसरी खेताला लगाएर काम गर्थे, अहिले त्यो छैन । कारण कोरोनाबाट जोगिन सरकारले भिडभाड नगर्न आग्रह गरेको छ । परिवारले मात्रै काम गर्दै आएको बिक बताउँछन् । उनी भन्छन् ‘अहिले काम गरेपछि पो भोलि सजिलैसँग खान पुग्ला, जसरी नि परिवारले मिलेर काम गर्नै पर्याे ।’ सोही स्थानका अशोक राउत पनि गहुँ स्याहार्न निकै व्यस्त देखिएका छन् । उनी सदाको जस्तै आफ्नो परिवारसँग खेतबारीमा काम गर्दै आएका छन् । आफ्नो काम आफै गर्नुपर्छ भन्ने मान्यता उनमा रहेको छ । सबै परिवारहरु एकै ठाउँमा भेला भएर काम गर्न पाउँदा निकै खुसी लागेको उनी बताउँछन् ।

गहुँ स्याहारेपछि धानको बीउ राख्न ब्याड बनाउने तयारी रहेको राउत बताउँछन् । धनबहादुर बिक पनि बारीमै व्यस्त देखिएका छन् । उनी बारीमा मकैको बीउ लगाउन र उत्पादन गरेका कृषिजन्य वस्तुहरु स्याहार्न निकै नै व्यस्त छन् । अहिले बारीमा मकै छर्नमा व्यस्त रहेको बिक बताउँछन् । उनि भन्छन् ‘बेलैमा खेती नगर्ने हो भनेपछि के खाएर बाँच्ने, गाउँमा घरभित्र बसेर पुग्दैन् आफ्नो काम गर्नै पर्याे, हाम्रो प्रमुख आम्दानी नै खेती हो ।’ रेसुङ्गा नगरपालिका ४ अर्खलेका हरिप्रसाद पन्थी पनि तरकारी खेती गर्न निकै व्यस्त देखिएका छन् । उनी तरकारीका बीउ लगाउनमै व्यस्त छन् । पन्थी भन्छन्, ‘लकडाउन थपिदै जाने हो भने उत्पादन गरिएको तरकारी विक्री हुँदैन र म जस्ता कृषक मारमा पर्छौ ।’ नेपाल सरकारले पक्कै पनि केही सोंचेको होला उनी भन्छन् । पन्थीले आठ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । काक्रो, फर्सी, लौका, घिरौला, भान्टा, गोपी लगायतका अन्य विभिन्न थरीका तरकारी उत्पादन गर्दै आएको उनी बताउन्छन् । त्यस्तै सोही स्थानका मित्रलाल पन्थी पनि तरकारी खेतीमा निकै व्यस्त देखिएका छन् । उनले आफ्नो चार जनाको परिवार सहित काममा व्यस्त रहेको बताउँछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update