Shittalpati
आलु निकाल्न रामपुरको शीत भण्डार खुला 

पाल्पा, रामपुर शीत भण्डार आगामी एक हप्ताका लागि खुला गरिएको छ । शीत भण्डारमा राखिएको आलु निकाल्नका लागि एक हप्ता शीत भण्डार खुल्ला गरिएको हो । 

कृषक तथा उपभोक्ताले राखेको आलु निकाल्नका लागि शीत भण्डार आईतबार देखि आगामी कार्तिक १८ गते सम्म खुला गरिएको छ । शीत भण्डारको औपचारिक रुपमा खुला गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले यस क्षेत्रका कृषकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गरी शीत भण्डार सञ्चालन गरेको बताए । उनले कृषि उपज भण्डारणका लागि नगरपालिकाले शीत भण्डार निर्माण गरे पनि पर्याप्त मात्रामा कृषि उपज राख्न नसक्नु दुखद् भएको बताए । भण्डारण क्षमता धेरै भए पनि कृषि उपज भण्डारण नभएको उनले बताए । साथै उत्पादनमा वृद्धि गरी उत्पादित बस्तु शीत भण्डारमा भण्डार गरी ढुक्क हुन आग्रह गरे । सञ्चालनको पहिलो वर्षमा प्राविधिक त्रुटीका कारण शीत भण्डारमा केही समस्या देखिए पनि अहिले त्यस्तो समस्या नरहेको भन्दै ढुक्का साथ शीत भण्डारमा कृषि उपज भण्डारण गर्न कृषकहरुलाई आग्रह गरे । 

सुर्योदय कृषि सहकारी संस्थाका अध्यक्ष बुद्धिराज गौतमको अध्यक्षता,संस्थाका सचिव विष्णु रेग्मीको स्वागत, शीत भण्डारका व्यवस्थापक भुपति पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो । रामपुर नगरपालिका र सुर्योदय कृषि सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको सहकार्यमा शीत भण्डार संचालन हुँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update