Shittalpati
उपभोक्तालाई सहुलियतमा टमाटर र खुर्सानी वितरण गर्दै युवा संघ

पाल्पा । विश्वभर फैलिरहेको कोरोना महामारीका कारण सरकारले जारी राखेको लकडाउनले बजारमा प्राप्त मात्रमा तरकारी नपाइनु र पाइए पनि महङ्गो मूल्यमा खरिद गर्न उपभोक्ता बाध्य बनेका बेला युवा संघ नेपाल पाल्पाले सहुलियतमा टमाटर र खुर्सानी वितरण गर्दै आएको छ । लकडाउनका समयमा किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको ढुवानी सहज बनाउनुको साथै नागरिकलाई सुपथ मूल्यमा सहजै घर–घरमा तरकारी पु‍र्‍याउने उद्देश्य अनुरुप संघले टमाटर खरिद गरेर उपभोक्तासम्म पुर्‍याएको हो ।

 

संघले वाणगंगा कृषि सहकारी कपिलवस्तुमार्फत खरिद गरी विहिबारदेखि तानसेनका घर–घरमा सहुलियतदरमा टमाटर र खुर्सानी वितरण गर्न थालेको छ । लकडाउनका कारण आम कृषक र नागरिक समस्यामा परेकाले उनीहरुको सेवालाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याइएको संघका युवा तथा खेलकुद विभागका सदस्य करुणा काफ्ले बताए ।

उनले भने‘वर्तमान विषम परिस्थीतीमा कृषकले उत्पादन गरेको तरकारी बारीमै नकुहुन र सुपथ मूल्यमा उपभोक्ताले घरमा सहजै पाउन सकुन भन्ने हाम्रो उद्देश्य हो ।’ संघले ढुवानी र प्याकेजीङ्गको लागत आफैले व्यहोर्ने गरी कृषकसँगै खरिद गरेकै मुल्यमा टमाटर प्रतिकेजी २५ र खुर्सानी प्रति पाउ २५ रुपैयाँमा तानसेनमा उपभोक्तालाई वितरण गरेको जनाएको छ । पहिलो दिन बिहीबार तानसेनमा ४ हजार ६ सय किलोग्राम टमाटर र तीन सय किलो खुर्सानी बिक्री गरेको युवा तथा खेलकुद विभागका सदस्य काफ्ले जानकारी दिए । अहिले बजारमा टमाटर, खुर्सानी लगायतका तरकारी अत्याधिक महङ्गो छ ।

यो अवस्थामा विभिन्न संघसंस्थाले कृषि एम्बुलेन्स मार्फत तरकारी लगायतका कृषि उपज बिक्री गरिरहेका छन् । यसअघि तानसेन युवा परिषदले सहुलियतमा उपभोक्तलाई तरकारी प्रदान गरेको थियो । कोरोना संक्रमण रोकथाम एंव व्यवस्थापन आपूर्ति व्यवस्थापन समितिले छिमेकी जिल्ला र भारतबाट तरकारी ल्याउन सकिने निर्णय गरेसँगै युवा परिषद्ले सेवा बन्द गरेको हो । माथागढी बहुउद्धेश्यीय सहकारी संस्थाले पनि सहुलियतमा उपभोक्तलाई तरकारी प्रदान गर्दै आएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update