Shittalpati
सिँचाइ योजनाले फेरियो किसानको दैनिकी

गुल्मी, गुल्मी मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरुको खुसीको कारण हो, दुई करोडभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना । सिँचाइको अभावमा वर्षौदेखि आकाशे पानीको भर पर्दै आएका यहाँका किसानमा यतिबेला खेतखेतमा सिँचाइ सुविधा पुगेपछि थप जाँगर पलाएको छ । पक्की नहरको माध्यमबाट किसानका खेत खेतमा सिँचाइ पुगेपछि वर्षौदेखि बाँझिएका खाली जमिन हराभरा बनेका छन् ।

सिँचाइका कारण किसानले समय अनुसारका अन्नवाली उत्पादन गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको सहयोगमा मालिका गाउँपालिका–६ अन्तर्गत भैसेरुम्टामा सिँंचाइ योजना निर्माण भएपछि यतिबेला त्यहाँका किसानको दैनिकीसमेत फेरिएको हो । स्थानीयको लामो समयको प्रयासपछि गत तीन वर्षअघि शुरु भएको योजनाले यो वर्ष पूर्णता पाएको हो । 

सिँचाइ योजना निर्माणको जिम्मा पाएको अञ्जना श्रेष्ठ जेभी र जल उपभोक्ता समितिको सहयोगमा निर्धारित समयमै निर्माण सम्पन्न गरेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले जानकारी दिए । स्थानीय अर्जै खोलाबाट पानीको स्रोत व्यवस्थापन गरी निर्माण गरिएको उक्त सिँचाइ नहरको कुल लम्बाई तीन हजार छ सय ५० मिटर छ । गाउँको फाँटमा सिँचाइ पुगेपछि त्यस क्षेत्रको ६० हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको र ६५ घरधुरी प्रत्यक्ष लाभान्वित बनेको कार्यालय प्रमुख सापकोटाले बताए । पानीको अभावमा खेत बाँझै राखेर बस्न विवश त्यस क्षेत्रका किसानलाई सिँचाइ योजनाले ठूलो राहत पुगेको स्थानीय भैसेरुम्टा सिँंचाइ योजनाका अध्यक्ष देविराम गौतमले बताए । ‘सिँचाइको अभावमा खेत बाँझै राखेर बजारवाट चामल किनेर खानुपर्ने बाध्यता थियो, तर अहिले तिनै बाँझा खेतमा सिँचाइ पुगेपछि लहलह धान झुल्न थालेका छन्, अब त बजारबाट चामल बेसाउनु पनि पर्दैन’, स्थानीय देवीराम गौतमले भने । योजनाको दिगो व्यवस्थापन गर्न ठूलो चुनौती रहेको भन्दै सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले स्थानीय समुदाय र उपभोक्ताले नै त्यसको संरक्षण र सम्वद्र्धनमा ध्यान दिनसकेमा योजना दिगोरुपमा सञ्चालन गर्न सकिने बताए ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update