Shittalpati
लकडाउनका बेला सहकारीले बेचिदियो काफल

हाम्रा संवाददाता
तानसेन, पाल्पाको माथागढी क्षेत्रमा उत्पादित काफल यति बेला तानसेनको बजारमा भरिएको छ । माथागढी ३ कसेनी सिकारकोटको जंगलबाट स्थानीयवासीले सामूहिक रुपमा टिपेर जम्मा गरेको काफल बजारसम्म पुगेको हो । काफल विक्रीको प्रवन्ध भने माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले मिलाएको छ । जंगलमा फलेको काफल टिपेर बजारमा विक्री गर्ने र चामल किन्नुपर्ने स्थानीवासीको बाध्यतालाई बुझेर सहकारीले काफल बिक्रीका लागि बजारसम्म पुर्‍याइदिएकोमा निकै खुशी लागेको स्थानीयवासी तुलबहादुर घर्ती मगरले बताए । उनले भने, ‘बजारसम्म आफैंँ बोकेर विक्री गरी फर्कदा चामल किनेर ल्याउने गथ्यौं, अहिले सहकारीले बिक्री गरिदियो ।’

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका समयमै काफल टिप्न नपाएर बोटबाटै झरेर सकिन्छ कि भन्ने स्थानीवासीलाई चिन्ता थियो ।‘काफल बेचेरै जीविकोपार्जनका लागि अन्नको जोहो गर्ने कृषक चिन्तामा थिए, हामीले बजारसम्म लगेर विक्री गरिदियौँ’, सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थीले भने । सहकारीले कृषि ज्ञानकेन्द्र पाल्पासँगको समन्वयमा तानसेनमा बिक्री गरेको हो । गाउँपालिकाको झडेवा, ज्यामिरे, बक्सादी, कसेनी, सिकारकोट लगायत स्थानमा पर्याप्त काफल पाइन्छ ।

श्रम गरेर जीविकोपार्जन गर्नेहरु लकडाउनका बेला समस्यामा परेका बेला सहकारीले यसको व्यवस्थापन मिलाएको हो । प्रतिमाना एक सयका दरले काफल तथा सिप्लिकान, कर्कलो, भुटुक, कोइरालो, काँक्रो, गोलभेंडा, धनियाँ लगायत तरकारी करीब एक लाख ५० हजार बराबरको बिक्री गरिएको सहकारीले जनाएको छ । यसअघि जिल्लाका विभिन्न स्थानसँगै छिमेकी जिल्ला रुपन्देहीसम्म काफल बिक्रीका लागि लैजानुपर्नेमा यस पटक सो बाध्यता हटेको छ । यस अघि लकडाउनका कारण अर्गानिक तरकारी उपयोग गर्न नपाएका जिल्लाका उपभोक्ता गाउँको उत्पादित तरकारी तथा काफल घर–घरमै आइपुग्दा दङ्ग छन् । –रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update