Shittalpati
पर्यटक बढाउन खै ध्यान ?

कोभिड महामारीका कारण थिलो–थिलो परेको पर्यटन व्यवसायी अहिले तंग्रिन खोज्दै छ तर, पनि नेपालमा जसरी पर्यटक भित्रिनुपथ्र्यो, त्यति पर्यटक आउन सकेका छैनन् । सन् २०२२ मा विदेशबाट ६ लाख १४ हजार पर्यटक भित्रिए, जुन संख्या कोभिड अघि सन् २०१९ को तुलनामा ६५ प्रतिशत मात्र हो । कोभिडले उकुसमुकुस भएर बसेका पर्यटक धमाधम विश्वव्यापी भ्रमणमा निस्किरहेका बेलामा यो संख्या अपेक्षित होइन । अहिलेसम्मको पर्यटक आगमन दरलाई हेर्दा यो वर्ष सरकारले राखेको लक्ष्य पूरा हुने सम्भावना न्यून देखिएको छ । सरकारले यो वर्ष १० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य राखेको छ । सेप्टेम्बरसम्म ६ लाख ९२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यही हिसाबले लक्ष्य पूरा हुने सम्भावना न्यून देखिएको हो । विश्वका पर्यटकीय देशहरूले लय समात्न थालिसकेका छन् । कोभिड अघि पर्यटनलाई त्यति प्राथमिकतामा नराखेका देशहरूले पनि यतिबेला पर्यटक तान्न आक्रामक ढंगले लागिरहेको देखिन्छ । तर, विश्व पर्यटनबाट फाइदा लिन नेपालले समातेको गति भने अत्यन्तै सुस्त देखिएको छ । यो अत्यन्त दुखको कुरा हो । सरकारी नीति र निजी क्षेत्रको बेवास्ताका कारण अझै पनि पर्यटन क्षेत्र सुस्ताएको छ ।

आजको दिनमा विश्वको पर्यटन कसरी अगाडि बढिरहेको छ, त्यो ट्रेन्डलाई क्याचअप गर्नेतर्फ केन्द्रित हुनुपर्छ । हामी बदलिँदो विश्व पर्यटनको ट्रेन्ड समाएर अगाडि बढ्न सक्यौँ भने मात्र हाम्रो पर्यटन उद्योगले फस्टाउने मौका पाउँछ । मुलुकभर स्तरीय होटल तथा रिसोर्ट निर्माण भइरहेका छन् । पूर्वाधारमा प्रत्येक वर्ष लगानी थपिइरहेको अवस्था छ, तर  उनीहरुले पनि अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा जोड दिन सकेका छैन । होटेल बनाउन पाँच अर्बसम्म खर्च गर्ने तर होटेलको प्रचार–प्रसार गर्न पाँच लाख पनि खर्च गर्न डराउने ? यस्तो अवस्थाले पर्यटन फस्टाउन सक्दैन । निजी क्षेत्रले अन्तर्राष्ट्रिय मार्केटिङमा दिल खोलेर खर्च गर्नुपर्छ । पर्यटक आउनका लागि पूर्वाधार निर्माण भएर मात्र हुँदैन । मुख्य विषय पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ । पर्यटक धेरै ल्याउन नसकेको मात्र होइन, आएका पर्यटकलाई पनि महँगोमा सेवा बेच्न सकेका छैनौं । पर्यटकको खर्च र बसाइ अवधि बढाउन सके पनि अहिले आएका पर्यटकबाट थप राहत हुने थियो । त्यस्तो वातावरण पनि बनाउन सकिएको छैन । यसर्थ पर्यटकहरु वृद्धि गरी पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update