Shittalpati
पाल्पाका चिकित्सकहरु पनि आन्दोलित   

पाल्पा, सुरक्षाको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन् । पाल्पामा पनि  बुधबारदेखि चिकित्सकहरु आन्दोलित भएका छन् । ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन् ।

लुम्बिनी मेडिकल कलेज तथा टिचिङ अस्पतालमा कार्यरत आवासीय चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सर्घष समिति पाल्पाको आयोजनामा तानसेनमा विरोध  गरिएको आवासीय चिकित्सक डा. उज्जवल ठोकरले बताए ।   चिकित्सकहरुले सम्पुर्ण स्वास्थ्यकर्मीहरुको पुर्ण सुरक्षा हुनुपर्ने, दोषिलाई कडा कारवाही गर्नुपर्ने, चिकित्सकहरुको मागहरु पुरा हुनुपर्ने  नारा लगाउदै तानसेनका विभिन्न चोक चोकमा पुगी विरोध गरेका हुन् ।  

मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लामा  स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा  राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै सुरक्षाको प्रत्याभूति दिन भन्दै आन्दोलनमा चिकित्सकहरुले विभिन्न ४  मागहरु अगाडि सारेका छन् । काममा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु माथी गुण्डागर्दी शैलीमा आक्रमण हुँदा समेत दोषीलाई कारवाही नभएको भन्दै आवासीय चिकित्सकहरुले स्वास्थ्यमन्त्री र तथा गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

यसैगरी चिकित्सकहरुले  जेल विइथ आउट वेलको पुर्ण रुपमा प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ को पहिलो संसोधन २०७९ स्वास्थ्यकर्मीको पक्षमा नभएको पुनः संसोधन हुनुपर्ने, स्वास्थ्य संस्थालाई सुरक्षित कार्यस्थलको वातावरण सिर्जना गरिनुपर्ने, आवासीय चिकित्सकहरुको हकमा हप्तामा एक दिन बर्षमा अनिवार्य १५ दिन विदाको प्रावधान पुर्ण रुपमा लागु हुनुपर्ने, समय अनुसार चिकित्सकहरुको सेवा सुविधाहरु पुनरावोलकन हुनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको लागि अस्पताल भित्र प्रहरी विट राख्नु पर्ने, अस्पताल भित्र आईपर्ने समस्या समाधानको लागि अस्पताल प्रमुखको अगुवाईमा प्रहरी सहितको समन्वय समिति गठन गरी कार्यान्वयनको अधिकार दिनुपर्ने लगायतका मागहरु राखेर चिकित्सकहरु आन्दोलनमा उत्रिएको लुम्बिनी मेडिकल कलेज तथा टिचिङ अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट चिकित्सक डा. उदीप महर्जनले बताए ।  पाल्पाको लुम्बिनी मेडिकल कलेजमा मात्र दुई सय भन्दा बढी आवासीय चिकित्सकहरु रहेका छन् । मागहरु सम्बोधन नहुँदासम्म आन्दोलन निरन्तर चलिरहने चिकित्सक डा. महर्जनले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update