Shittalpati
पत्रकार चापागाईंको रचनामा ‘परदेशी २’ फिल्मको गीत सार्वजनिक

पाल्पा, पत्रकार सतिस चापागाईको रचना, नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत बजारमा आएको छ । उक्त रचना रहेको भिडियो म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक भएको हो ।

‘हिजो काम, आज काम mकाम विदेशमा, काम भन्दा के नै छ र आमा विदेशमा’ यी मर्मस्पर्शी शब्दहरु गीतमा रहेका छन् । गीतमा परदेशीको पीडा र बाध्यतालाई समेटिएको छ । फिल्मका अभिनेतासमेत रहेका प्रशान्त तामाङले यसमा स्वर दिएका छन् । बि.बि अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन् ।

भिडियोमा फिल्मका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ । नारायण रायमाझी निर्देशित ‘परदेशी–२’ बडा दशैँको अवसर पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले संयुक्त निर्माण गरेका हुन् । प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतले फिल्ममा अभिनय गरेका छन् । गीतकार रमेश बिजीको लेखन रहेको फिल्मले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरूको कथालाई चित्रण गर्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत फिल्ममा समेटिएको छ । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

 रचनाकार चापागाई १५ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । लामो समय नवजनचेतना राष्ट्रिय दैनिकमा समेत काम गरेका चापागाईं विगत ३० बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनले कविता र गीतहरु पनि लेख्छन् । चापागाई नेप्लिज डायस्पोराका प्राधान सम्पादक र संचालक समेत हुन् ।

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update