Shittalpati
रामपुर नगरपालिकाले गर्यो विद्यार्थीलाई सम्मान

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । उसले ५९ औँ बाल दिवसका अवसरमा २०७९ सालमा माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६५ जिपिए र सो भन्दा बढी जिपिएका साथ उत्तिर्ण भएका २३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

नगरपालिकाले विद्यार्थीहरुलाई नगद र सम्मान पत्रले सम्मान गरेको छ । विद्यार्थीहरुलाई सम्मान गर्दै नगर प्रमुख रमण बहादुर थापाले नगरपालिका बालबालिका र शैक्षिक क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताए । उनले बालबालिका र विद्यार्थीहरुलाई व्यवहारिक शिक्षामा जोड दिनु अहिलेको आवश्यकता रहेको औँल्याउँदै त्यसतर्फ आफुुहरुले ध्यान दिएको बताए । नगर प्रमुख थापाले भने,‘विद्यार्थीहरुलाई व्यवहारिक शिक्षामा जोड दिनका लागि हामीले हरेक शुक्रबार ‘बुक फ्रि फ्राई डे’ कार्यक्रम सञ्चालन गरेका छौं । किताबी ज्ञान मात्रै शिक्षा होईन, व्यवहारिक शिक्षाले मात्र बालबालिका र विद्यार्थीहरुको जीवनमा सकारात्मक प्रभाव पार्छ ।’ कार्यक्रममा उपप्रमुख बालकुमारी थापाले बालबालिकाको हरेक अधिकार सुरक्षित गर्न र बालबालिकाको सुनौलो भविष्यका लागि नगरपालिकाले प्रसस्त लगानी गरेको बताइन् । उनले बालमैत्री स्थानीय शासन कायम गर्नका लागि नगरपालिकाले विभिन्न सुचकहरु अबलम्बन गरिरहेको समेत बताईन् । कार्यक्रममा रामपुर नगरपालिकाका सल्लहाकार कृष्ण प्रसाद पौडेल, रामपुर नगरपालिका शिक्षा समितिका सदस्य सुन्दर प्रसाद देवकोटा, गोविन्द प्रसाद पौडेल लगायतले बालबालिकाको क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । सोही अवसरमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत भएको थियो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको हो । प्रतियोगितामा रामतुलसी माध्यमिक विद्यालयकी सञ्चिता थापा प्रथम, दरैठाँटी माध्यमिक विद्यालयकी पूर्णिमा खनाल द्धितिय, भूपू सैनिक राईजिङ ईग्लिस सेकेण्डरी स्कुलकी  मनिषा नेपाली तृतिय र भानुभक्त माध्यमिक विद्यालय जब्गादीका सृष्टि काफ्ले सान्त्वना भएका छन् । उनीहरुलाई नगद र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा नगर भित्रका १० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको हो । नगर शिक्षा समितिका संयोजक सिमादेवि थापाको अध्यक्षता, योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update