Shittalpati
ओजोन तह बचाउ दिवसको सन्दर्भ

आज १६ सेप्टेम्बर अर्थात् ओजोन तह संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवस । विश्वभर बर्सेनि आजकै दिनलाई विश्व ओजोन तह बचाउ दिवस मनाइने गरिन्छ । यस दिन विश्वभरि विभिन्न कार्यक्रम गरेर मनाइन्छ । ग्लोबल वार्मिङका कारण पृथ्वीको तापमान बढ्दै गएकोमा विश्व समुदाय चिन्तित भइरहेकै बेला यो दिवस मनाइँदै छ । हरेक वर्ष दिवस मनाइए पनि ओजोन तह संरक्षणमा भने खासै ध्यान दिइएको पाइदैन । पृथ्वीमा कार्बनको मात्रा बढ्दै गएको छ भने ओजोनको तह पातलिँदै गएको छ । जसले गर्दा खतराको अवस्था सिर्जना हुने तर्फ वैज्ञानिकहरुले चिन्ता प्रकट गर्नुलाई अन्यथा लिनु हुँदैन । जलवायु परिवर्तनका कारण आज सिंगो पृथ्वी जुन अवस्थामा छ, अन्तिम समयसम्म पनि त्यस्तै नरहला भन्न सकिदैन । त्यसैले यसतर्फ समयमै सबैले सोच्नुपर्दछ । क्लोरोफ्लोरो कार्वन, मिथाइल, ब्रोमाइड, कार्वन टेट्रोक्लोराइड जस्ता क्लोरिन, ब्रोमिन तथा अक्साइड रेडिकल भएका झण्डै ९४ वटा रसायनहरु ओजोन तह विनाशका लागि जिम्मेवार छन् । यसबाट ओजोन तहको विनाश त हुन्छ नै त्यसभन्दा बढी र ठूलो मूल्य पृथ्वीले चुकाइरहनुपरेको छ । जसले, गर्दा त्यसको असर मानवजातिमा मात्र होइन पारिस्थितिक प्रणालीमा नै परेको छ ।
ओजोन तह संरक्षण गर्न सबैभन्दा प्रभावकारी उपाय यसबाट पर्ने नकारात्मक असरहरुको बारेमा विश्व समुदायमा चेतना जगाउनु नै हो । वातावरणीय प्रदुषण नियन्त्रणका लागि उद्योग तथा यातायात सञ्चालन र त्यसमा प्रयोग हुने प्रविधि सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुनुपर्छ । सबैभन्दा महत्वपूर्ण कार्य त क्लोरोफ्लोरो कार्वन उत्पादन बन्द गर्नु अथवा यसको प्रयोग गर्न निरुत्साहित गर्नु नै उत्तम हुन्छ । ओजोन तह बचाउनका लागि अभियान नै चलाउन आवश्यक छ । त्यसैले यो विषयप्रति समयमै सचेत बन्दै भविष्यका लागि आशावादी चित्र निर्माण गर्ने दिशामा सबैले सोचौं । यसो हुन सक्यो भने मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ । 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update