Shittalpati
अस्तभयो : सत पुरुषको

नेपालको प्रजातन्त्र पुनःस्थापना र लोकतान्त्रिक युगका पवित्र पात्र, सुभासचन्द्र नेम्वाङको मंगलबार बिहान १ बजे भएको निधनले मुलुकले अर्को एउटा नक्षत्रलाई गुमाउनुको पीडावोध गरिरहेको छ । वास्तवमै नेम्वाङ आफैमा यो युगका पवित्र अवतार जस्तै थिए । उनी र उनको प्रस्तुति अनि व्यवहारमा कुनै पनि किसिमको फरकपना कहिल्यै पनि पाइएन । सादा जीवन अनि उच्च विचारक, जनजातीका छोरो, जनप्रियताका शिखर पुरुषको अवसानले सिंगो मुलुकले एउटा नक्षत्र गुमाएको भान भएको छ । उनी बस्दा, हिँड्दा, अनि हरेक क्रियाकलापमा उनीबाट आमनेपाली जनताले आशा र भरोसाको ढाड्स भएको अनुभूति गर्ने गर्थे । संसद होस् यो संविधानसभामा नै किन नहोस्, जनताका असल पक्षधर भनेर उनी उदयमान नेताका रुपमा प्रकट भए जस्तो गरेर अल्पायुमै भएको उनको अवशान आमनेपाली जनसमुदायका लागि मात्र नभएर दक्षिण एसियाकै जनपक्षीय नेता गुमेको पीडावोध भइरहेको छ ।

प्रजातन्त्र प्राप्ति र लोकतान्त्रिक आन्दोलनमा उनले खेलेका हरेक भूमिकाहरु महत्वपूर्ण राजनैतिक दर्शन जस्तै भएका छन् । संविधान निर्माण प्रक्रियामा संविधानका निर्माता स्वर्गिय शुसिल दा, लाई उनले दिएको ढाड्सलाई स्वर्ण अक्षरमा उल्लेख गर्ने गरी स्थापित सत्य सावित भएका बेला एकाएक उनको अवशानले मुलुकमा विचार र विवेकशील राजनीतिज्ञहरुको खडेरीको तापक्रम बढेको अनुभूति हुने गर्दछ । ‘मृत्यु सत्य हो, जीवन अजर हँुदैन’ भन्ने मान्यताका आधारहरु पनि हामीबीच नभएका होइनन् । तर पनि उनको अस्त ठुलो बज्रपात नै हो । आत्मा मर्दैन भन्ने आध्यात्मिक सोंच र पौराणिक वैदिक परम्परामा सत्यता छ भने उनको आत्माले वैकुण्ठवास पाओस् अनि पुर्नजन्म हँुदा नेपालकै कोखमा प्रार्दूभावी शैलीबाट प्राप्त गर्न सकियोस् भन्ने कामना गर्ने भन्दा अर्को विकल्प रहेनछ । त्यसकारण एक युगमा एकाद मात्रै यस्ता पुरुषहरुलाई मुलुकले प्राप्त गर्छ तर उनीहरुको इच्छा पूरा नहुँदै दैवको लीलामा विलीन हुने परम्परालाई यो पटक पनि दैवले कार्यान्वयन गरेर देखायो । अलविदा कमरेड, नेपालीका प्रिय नेता, हामी सबैका अभिभावक भन्ने बाहेक अर्को विकल्प छैन । नेम्वाङ परिवारमा परेको यो बज्रपातको धैर्यताका साथ सामना गर्ने शक्ति प्राप्त होस् । उनले सोंचेका तर कार्यान्वयन गर्न बाँकी रहेका अधुरा कामहरु पूरा गर्ने तर्फ लाग्नु नै हामी सबैको दायित्व हो ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update