Shittalpati
तानसेनमा टक्सारको गणेश रथयात्रा निकालियो

पाल्पा, तासेनस्थित टक्सारटोलमा रहेको  श्री ७ सूर्यविनायक गणेशको रथयात्रा निकालिएको छ । यो हरेक वर्ष श्रीनगर सिद्धि विनायक गणेशको रथयत्रा निकालेको भोलिपल्ट निकाल्ने गरिन्छ । तानसेनका नेवार समुदायले विशेष गरी यो मनाउने गर्छन् । यस वर्ष आइतबार हर्सोल्लासका साथ रथ निकालिएको हो । 

भगवतीको जात्रामा जस्तै युवाहरुले गणेशको रथ बोकेर नगर परिक्रमा गराएका थिए । अगाडि–अगाडि भजन र पछिपछि रथ डुलाइएको थियो । परिक्रमा गर्न हिडालिएको रथमा तानसेनवासीले विभिन्न पर्सादहरु चढाउने गरेको देखिन्थ्यो । अघिल्लो दिन जाग्राम बसीे भोलिपल्ट बाजागाजाका साथ गणेशको मूर्तिलाई खाटमा राखी बजार घुमाइन्छ । 

गणेशको जन्म भएको दिन भाद्र शुक्लपक्ष चतुर्थी (गणेश चतुर्थी) भए तापनि टक्सारमा प्रत्येक वर्ष गणेशको रथयात्रा भाद्र कृष्णपक्ष चतुर्थीका दिन भव्यताका साथ निकालिन्छ । गणेश रथयात्रा कहिलेदेखि प्रारम्भ भएको हो भन्ने यकिन तथ्य र प्रमाण पाउन नसकिए पनि दोश्रो पटकको आगलागी पश्चात् रथयात्रा प्रारम्भ गरेको अनुमान गर्न सकिन्छ ।

गणेशको स्थापना २०० वर्षभन्दा पहिले नै भएको अनुमान पुरातत्वविद्हरुले गरेका छन् । पुरानो कथन र भनाइ अनुसार २०० वर्ष भन्दा पहिले टक्सार टोलमा एउटा मसला पिस्ने सिलौटा पाइएको थियो । उक्त सिलौटामा मसला पिस्दा मुसा (छुचुन्द्रो) कराएको आवाज आयो । पिस्न छोड्दा आवाज बन्द हुने र फेरि पिस्दा बारम्बार त्यस्तै आवाज आउने हुँदा यताउता हेर्दा मुसा नदेखिएपछि त्यो सिलौटालाई पल्टाएर हेर्दा गणेशको आकृति पाइएको थियो । तत्पश्चात स्थानीय बासिन्दाको सक्रियतामा त्यही सिलौटालाई दूध, पानीले धोएर हाल गणेश मन्दिर भएको ठाउंमा पूर्व मुख पारेर श्री सूर्यविनायक गणेशको नामले वि.सं. १८६७ नेपाल सम्बत् ९३० (इ.स १८१०) मा वैशाख शुक्लपक्ष अक्षय तृतीयाका दिन स्थापित गरिएको थियो । टक्सार गणेश जात्राको भोलिपल्ट भिमसेन टोलबाट भिमसेन जात्रा निकालिने संस्कृतिका जानकार राजेन्द्र गोपाल सिंहले बताए । भिमसेन भनेका महाभारतका बलवान शक्तिशाली भिम हुन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update