Shittalpati
मृत्युमार्ग बन्दै सडक
धादिङ र बारामा भएका छुुट्टाछट्टै बस दुुर्घटना । –तस्वीर : रासस

पाल्पा, पछिल्ला केही दिनमा भएका सडक दुर्घटनाका घटनाहरूले स्तब्ध बनाएको छ । बुधबार बिहान काठमाडौंबाट पर्वतका लागि छुटेको प्रदेश ०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका २ चालिसेस्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भयो भने १७ जना घाइते । बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

त्यो घटना घटेको २४ घटना वित्दा नवित्दै पुनः विहीबार विहान बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको थियो । दुर्घटनामा १९ जना घाइते छन् । बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको दर्शन गरी घर फर्किँदै थिए । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । यी दुःखद् दुर्घटना नेपालमा सडक दुर्घटनाको कहालीलाग्दो शृङ्खलाको पछिल्ला केही प्रतिनिधि घटना मात्र हुन् ।

सडक दुर्घटनाकै कारण वर्षेनी धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ । जसका कारण सडक मृत्युमार्गका रुपमा चिनिदै गएको छ । नेपालमा सडक दुर्घटनाका कारण वर्षेनी करिब २ देखि ३ सय जनाले ज्यान गुमाउनु, सयौं घाइते र हजारौं अपांग हुनुले सडक दुर्घटनाको कहालीलाग्दो तस्वीर देखाउँछ । केन्द्रीय प्रहरीको तथ्यांकअनुसार देशभर गत आर्थिक २०७९/०८० मा मात्र २३ हजार ५ सय ९७ वटा सवारी दुर्घटना भए । जसमा २ हजार ३ सय ६८ जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो । ३० हजार २ सय २६ जना घाइते भए । त्यसभन्दा अगाडिको आव २०७८/०७९ मा सवारी दुर्घटनामा परी २ हजार ८ सय ८३ जनाले ज्यान गुमाएका थिए ।

पाल्पामा पनि सवारी दुर्घटनाको कहाली लाग्दो अवस्था छ । यहाँँ चार वर्षको अवधिमा मात्र २ सय २४ सवारी दुर्घटना हुँदा १ सय ९ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा ४७ सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा यो वर्ष सवारी दुर्घटना कम भए पनि मृत्युको संख्या भने बढी हो । आर्थिक वर्ष २०७८/०७९ मा ६५ सवारी दुर्घटनामा २५ जनाले ज्यान गुमाएका थिए । यस्तै आर्थिक २०७६/०७७ मा ५१ सवारी दुर्घटनामा २३ र आर्थिक वर्ष २०७७/०७८ मा ६१ सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन् । प्रहरीअनुसार सवारी दुर्घटना बढ्नुमा जीर्ण सडक, चालकको लापरवाही,तीव्र गति, सवारी साधनको अवस्था, मादक पदार्थ सेवन (मापसे) प्रमुख कारण बर्सेनि दुर्घटना बढिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

बास्तवमा यातायात व्यवस्थाको भद्रगोलले चालकलाई सजग र जिम्मेवार बनाउन नसकेकै कारण कमजोरीले खेल्ने ठाउँ पाइरहेको हो । यति मात्र होइन, सडक सुरक्षा प्रणाली नै नहुँदा यातायात सम्बन्धी हरेक पाटोले दुर्घटनाको जोखिम बढाइरहेको छ । सडक सुरक्षा मुख्य गरी चालक, सवारी साधन र सडकसँग जोडिने विषय हो । तर, यी तीनवटै पाटा चुस्तदुरुस्त छन्÷छैनन् भनेर हेर्ने संयन्त्र र यिनलाई सहि अवस्थामा राख्ने प्रणाली सरकारी तवरबाट बनाएकै छैन । जसलाई मौसमी रूपमा गरिने सचेतना अभियान र प्रचारात्मक कार्यक्रमले ढाकछोप गरिन्छ । जसले गर्दा वर्षेनि बढ्दो सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update