Shittalpati
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास

रामचन्द्र रायमाझी/दीपक पोखरेल
पाल्पा,
बाली नालीलाई बाँदरले मात्र होइन बदेलले पनि सखाप पार्ने गरेको छ । जंगलनजिकै खेतीबारी हुने किसानहरु दिनभरि बाँदर धपाउँछन् भने राति बदेल ढुकेर बस्छन् । पछिल्लो समय पाल्पा र गुल्मीका अधिकांस ठाउँका किसान दिनरात नभनी खेतबारीमै बास बस्न बाध्य छन् । यहाँका ग्रामीण क्षेत्रमा बाँदर र बदेलले बालीनाली सखाप पार्न थालेपछि स्थानीयवासी बारीमै जाग्राम बस्न थालेका छन् । दिनभर बाँदर र रातको समयमा बदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि किसान बालीनाली जोगाउन रातभर बारीमै बास बस्न थालेका हुन् । मकै पाक्न लागेको समयमा नजिकैका जंगलबाट बाँदर र बँदेलको समूह आएर बारीका मकै खाने गरेको पीडित किसानहरु बताउँछन् ।

बगनासकाली गाउँपालिका यम्घाका हरी न्यौपाने बाँदर र बदेल धपाउन दिनरात बारीमै जागराम बस्छन् । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उनीमात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् । पाक्न लागेको बाली नष्ट गरेर बाँदर र बदेलले दुःख दिन थालेको पीडित किसान न्यौपानेको भनाई छ । बालीनाली जोगाउन बारीमै रातभर जाग्राम बस्ने गरेको उनले बताए । बाँदर र बदेल आतंकका कारण बारीमै सुत्न बाध्य भएको रैनादेवी छहरा–४ ध्वाघाटका किसान श्रीकृष्ण आत्रेयले बताए । ‘दिउँसो बादर धपायो रातिमा बँदेल आएर सताउँछ, पाक्न लागेको मकै बालिमा क्षति पुर्‍याएपछि अहिले हामी गाउँभरका किसान बारिमै सुत्न बाध्य  छौं’ उनले भने । बारिमै टहरो बनाएर दिन रात बाँदर र बदेलको निगरानी गर्नु परेको आत्रेयको भनाई छ । उनले राहतको नाममा बीउको क्षतिपूर्ति भन्दा पनि किसानलाई गरी खाने वातावरण सिर्जना गरिदिन स्थानीय सरकारलाई आग्रह गरेका छन् । त्यस्तै अर्का पीडित किसान टेकराज पोखरेलले बारिमा बदेल र बाँदरले क्षति पुर्‍याएको मकै देखाउदै  भन्छन् ‘यसरी नै  बाँदर, बदेलको आतंक बढ्दै गएमा आटो खाना त परै जाओस् पोलेर खाने मकै समेत हुँदैन ।’ बाँदर नियन्त्रणमा स्थानीय सरकारले पहल गरिदिनुपर्ने पोखरेलले बताए । पालिका अध्यक्ष रुक्मागत भट्टराईले भने स्थानीय सरकार एक्लैले बाँदर नियन्त्रण गर्न नसक्ने बताए । उनले यस विषयमा केन्द्रीयस्तरबाटै नीति बन्न आवश्यक रहेको बताए । अध्यक्ष भट्टराईले भने ‘बाँदर र बदेलबाट किसानले भोग्नुपरेको क्षतिप्रति स्थानीय सरकार गम्भीर छ ।’ बँदेल र बादर आतंकको समाधानको लागि पहल गरिदिन प्रदेश सरकारलाई कार्यपालिकाको निर्णय गरेर पठाएको समेत उनले बताए । बालीमा क्षति पुगेका किसानहरुको विवरण संकलन गरेर राहतको व्यवस्था गरिने अध्यक्ष भट्टराईले बताए । यता कृषि ज्ञान केन्द्र पाल्पाले जंगली जनावरले पुर्‍याएको क्षतिमा आफुहरुले केही गर्न नसक्ने बताएको छ । कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले त्यसका लागि पालिकाको  कृषि शाखाबाटै किसानले राहतको लागि पहल गर्न सकिने बताईन । पाल्पाका अन्य ठाउँहरुमा पनि बाँदर र बदेलबाट बाली जोगाउन किसानालाई सकस परेको छ ।

गुल्मीका किसान पनि हैरान
उता गुल्मीका किसान पनि बाँदर र बदेलबाट हैरानी भएका छन् । जिल्लाका अधिकांश स्थानमा लगाइएको अन्नबाली बाँदर र बदेलले क्षति पुर्‍याउने गरेको छ । बारीमा मकै पाक्न लागेको समयमा नजिकैका जंगलबाट बाँदरको समूह आएर बालीनाली सखाप पार्न थालेपछि किसान चिन्तित छन् । बाँदर र बदेलको समूहले मकै, बेसार, पिडालु, तरुल लगायतका बाली नाली खाइदिने गरेको गुल्मी इस्मा –२ का गर्भर मल्ल बताउँछन् । ‘बर्सेनी पाक्न लागेको बाली नष्ट गरेर बाँदरले दुःख दिन थाले, बालीनाली जोगाउन बारीमै दिन, रात जाग्राम बस्नुपर्छ’ मल्लले भने । बाँदर र बँदेलको समूहले मानिसलाई समेत आक्रमण गरेर घाइते समेत बनाउने भएकाले स्थानीय त्रसित भएका छन् । चारैतिर जंगल रहेको उक्त गाउँका सबै किसान खेतको बीचमा टिन हालेर दिन रात हल्ला गर्दै बाँदर, बदेल भगाउन बस्ने गरेका छन् ।

बँदेलले पूरै बाली सखाप गरिदिएपछि जंगल नजिकका जग्गामा त कतिपयले खेती लगाउनै छोडेकाका छन् । केही वर्षपहिले खोला, जंगल नजिकका भेगमा मात्र बाँदर र बदेलले बाली नोक्सान गर्नेमा पछिल्लो सयम गाउँवस्तीतिर पनि यस्तै समस्या आएको हो । एकातर्फ जमिनमा खेती नगरेर बाँझो राख्ने चलन बढ्दै जानु र अर्कोतर्फ गाई भैसी पाल्ने क्रम विस्तारै घट्नुले वनजंगल क्षेत्र बढेर बाँदरसहित जंगली जनावरको आतंक बढेको हो । जिल्लामा बाँदरले किसान हैरानी भएपछि नेपाली काँग्रेस गुल्मीले भने त्यसको नियन्त्रणका लागि पहल थाल्लेको छ । उसले बैंठबाटै जनताले भोगी रहेको समस्या बादर आतंक नियन्त्रणका लागि राज्यस्तरबाटै सोचिनुपर्ने भन्दै नेपाली काँग्रेसको केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने भएको हो । ‘अहिले मकैखेतीको समय हो, बाँदर र बँदेलले मकैखेतीमा क्षति पु¥याउँदै आएको छ, यसलाई नियन्त्रण गर्न केन्द्रीय सरकारबाटै पहल थालिनुपर्छ, त्यसका लागि हामीले सरकारलाई अनुरोधका लागि पहल थालेका छौं’ काँग्रेस सभापति खिलध्वज पन्थीले भने ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update