Shittalpati
अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा

पाल्पा, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खसेर अवरुद्ध बनेको सडक एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि आइतबार दिउँसोदेखि सडक  एकतर्फी सञ्चालनमा आएको हो ।

शनिबाररातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग र त्यस आसपासका क्षेत्रमा पहिरो खसेको हो । सडकमाथिबाट ठूलाठूला ढुंगासहित पहिरो खसेको छ ।

अहिले पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । सुरुङमार्ग निर्माण कम्पनी चाइना स्टेट कर्पोरेसनका डोजर र स्काभेटरले पहिरो फाल्ने काम गरिरहेका छन् । ठूला ढुंगासहितको पहिरो पन्छाउन कठिन भएकाले पूरै सडक सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ । रोकिएका मालवाहक सवारी साधनका साथै बस, मिनी ट्रकलाई  गन्तव्यतर्फ पठाइएको छ । लामो समयसम्म सडक सञ्चालन नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update