Shittalpati
सिद्धबाबा क्षेत्रमा पहिरो : बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

पाल्पा, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डस्थित सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । निर्माणधीन सुरूङमार्गको नजिकै पहिरो खसेको हो । सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग र त्यस आसपासका क्षेत्रमा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्र र निर्माणाधिन सुरुङमार्ग स्थलको दुबै तर्फको प्रवेश स्थलमा पहिरो खसेको छ । अवरुद्ध सडक सञ्चालनमा आउन नसकेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । सडकमा खसेको पहिरो पन्छाउन सिद्धबाबा सुरुङमार्ग निर्माण कम्पनी चाइना स्टेट कर्पोरेसनका प्राविधिक तथा डोजर, स्काभेटर परिचालन भएको दोभान प्रहरी चौकीले जनाएको छ ।

वर्षायाममा समेत निर्माण कम्पनी चाइना स्टेटले लगातार काम गरिहरेको छ । मेसिनको थर्काइबाट ठूलो पहिरो खसेको हुनसक्ने प्राविधिकहरूले अनुमान गरेका छन् । पहिरोले सडक खुलाउन केही समय लाग्ने पाल्पा प्रहरीले जनाएको छ । सडक बन्द हुँदा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, पर्वत, बाग्लुङ, कास्कीलगायतका क्षेत्रमा आवतजावत गर्ने सवारी साधन र यात्रुुहरु बिच बाटोमै अलपत्र परेका छन् ।

केही दिनदेखिको परेको अविरल वर्षासँगै खसेको पहिरोले निर्माणधिन सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशद्वारमा समेत अवरोध सिर्जना भएको छ । एक हप्ता अघि दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेशविन्दु रिप पोर्टल पहिरोले पुरेको थियो । त्यस यता पटक–पटक गएको पहिरोले उत्तरतर्फको प्रवेशविन्दुमा समेत क्षति पुर्‍याएको छ । दक्षिणतर्फको प्रवेशद्वार पहिरोले भत्काएको छ भने उत्तरतर्फको प्रवेशद्वार पहिरोले पुरिएको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीले बताइन् । उत्तरतर्फकोमा  ५० मिटर माथिबाट ठूलो चट्टानसहित पहिरो खसेर ढोकालाई क्षति पुर्‍याएको देखिन्छ । दुवैतर्फको प्रवेश मार्गमा पहिरोले क्षति पुर्‍याएकाले काम रोकिएको  इन्जिनियर ज्ञवालीले बताइन् । पानी पर्नासाथ पुनः पहिरो खस्न सक्ने जोखिम रहेको उनको भनाई छ । बर्खाको समय भएकाले नेपाली प्राविधिकरुले ढलान गर्न नहुने भने पनि परियोजनाले एक हप्ता पहिले नै प्रवेश द्वारको ढलान गरेको थियो । ‘ठेकेदार कम्पनीलाई वर्षा लागिसकेकाले पहिले नै काम नगर्न भनेका थियौं , तर उहाँहरुले काम गरेपछि अहिले यस्तो अवस्था भयो’ इन्जिनियर ज्ञवालीले भनिन् । 

पहिरोका कारण सुरुङमार्गमा क्षति पुगेको भए पनि यकिन विवरण  भने आएको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको काम अगाडि बढाएको थियो । एक हजार एक सय २६ मिटर दूरी रहेको सुरुङमार्गको काम तीब्रगतिमा अगाडि बढिरहेका बेला पहिरोले दुवै प्रवेशबिन्दुमा क्षति पुगेको छ ।

स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडीसी) ले गरेको अध्ययन प्रतिवेदनअनुसार नै काम अघि बढेको सडक विभागले जनाएको छ । सिद्धबाबा सुरुङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का लागे पनि एक वर्ष बढी म्याद गुज्रिसकेको छ । सम्झौता अनुरूप काम भए चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने छ । सुरुङमार्गको आकार लिइसकेको अवस्थामा पहिरोले बगाएपछि निर्माणमा ढिलाई हुने आशंका गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update