Shittalpati
लकडाउनका बेला  किसान खेतबारीमै व्यस्त
पाल्पा रैनादेवी छहराका कृषक माधव पोखरेलको बारीमा मकै छरी डल्ला ठोक्दै किसानहरु । –तस्वीर : कृष्ण पोखरेल

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा, कोभिड–१९ संक्रमणका कारण सरकारले लागु गरेको लकडाउनले ग्रामीण क्षेत्रका किसानलाई छुन सकेको छैन । लकडाउनको समयमा हिँडडुलमा रोक लगाए पनि गाउँघरमा किसानहरु भने खेतबारीमै व्यस्त देखिन्छन् । लकडाउनका कारण सहरमा सुतेर दिन काट्नु परिरहेको गुनासो सुनिन्छ भने, गाउँघरमा कसैलाई सुत्ने फुर्सद नै छैन । किसानहरुले दैनिक घर व्यवहार र बाली स्याहार्न भ्याइ नभ्याईले लकडाउन बितेको पत्तै पाउँदैनन् । गुल्मी इस्मा गाउँपालिकाका मोहन राना गत शनिबार दिनभर खेतीपातीमै व्यस्त रहे । उनी चर्को घाममा परिवार सहित कपडाको मास्क लगाएर मकै छर्नमै व्यस्त रहे । ‘गाउँमा घरभित्र बसेर पुग्दैन, यो बाली स्याहार्ने र लगाउने बेला हो,’ उनले भने, ‘बेलैमा खेती नगर्ने हो भने भोकै बस्नुपर्छ । हाम्रो प्रमुख आम्दानी नै खेती हो ।’ खेतीपातीमा व्यस्त रहँदा लकडाउनको समय गएको पत्तै हुँदो रहेनछ कृषक रानाले भने । यतिबेला उनी मात्र होइन गाउँका अधिकांश कृषकहरु लकडाउनमा झन् व्यस्त देखिन्छ ।

यतिबेला गहुँ पाकेको छ । रोजगारीको सिलसिलामा जिल्ला बाहिर गएका पनि फर्किएका छन् । त्यसले काम गर्ने थपिएका छन् । मुसीकोट नगरपालिकाकी इन्द्रा क्षेत्रीले पनि गहुँ काटेर खेतभरी मुठा पारेकी छन् । गहुँ स्याहारेपछि मकै छर्ने तयारीमा रहेको उनी बताउँछिन् । चैत्र ११ गतेदेखि देशव्यापी लकडाउनको कारण उद्योग धन्दा कलकारखाना ठप्प भएको अवस्थामा देशका अधिकांश भागमा भने कृषकहरु यसरी नै खेतीपातीमा व्यस्त भएका छन् । पाल्पाका कृषकहरु पनि खेतबारीमा गहुँ, जौँ स्याहार्नेदेखि मकै छर्ने काममा जुटेका छन् । कृषकहरु परिवारका सदस्यसँग मिलेर खेतबारीमा मल फालिरहेका छन् त कतै वर्षेवाली मकै लगाउने, डल्ला फोर्न कृषकहरु जुटेका छन् ।

खेतबारीको जौँ, गहुँ स्याहर्नदेखि खेतबारी सफा गर्ने वर्षभरी संकलन गरेको कम्पोष्ट मल फाली मकै छर्न कृषकहरुलाई भ्याई नभ्याई भएको छ । कोरोना भाइरसको सक्रमणबाट बच्न पाल्पाका कृषकहरुले दुरी कायम गर्दै माक्स लगाएर खेतीपातीको नियमित काम गर्दै आएका छन् । दुई चार दिन घरमै आराम गरेका कृषकहरु लकडाउन लम्बिएसंगै खेतबारीको काममा जुटेका हुन् । जताततै लकडाउनको असर परेको छ । यो समयमा सावधानी अपनाएर घरपरिवारका सदस्यहरु मिलेर, मुखमा माक्स लगाउँदै दुरी कायम गरी खेतीपातीको काम गर्दै आएको तानसेनकी कृषक माया न्यौपानेले बताईन् । एक महिना भन्दा बढी लामो लकडाउनका कारण उद्योग धन्दा कलकारखाना बन्द भएपछि रोजगारमा रहेका अधिकांश परिवारका सदस्यहरु गाउँ घर फर्किएका छन् ।

गाउँघरमा गहुँ, जौँ स्याहर्नेदेखि खेतबारीमा मल फाल्ने, मकै छर्ने काममा परिवारका सदस्यहरु जुटेका छन् । लकडाउनको कारण परिवारका सदस्यहरु जुटेर खेतीपातीको काममा सहयोग मिलेको रैनादेवी छहरा गाउँपालिका कृषक माधव पोखरेलले बताए । विश्वभर कोरोना भाइरसको सक्रमण बच्न र बचाउन लकडाउन भईरहेको समयमा नेपाल तथा भारतमा काम गर्ने अधिकांश व्यक्तिहरु आ–आफ्नो गाउँघर फर्किएका छन् । लकडाउनको कारण अधिकांश व्यक्तिहरुको रोजगारी गुम्नेस्थिति भएकाले युवाहरुले गाउँघरमै काम गर्ने सोंच बनाएका छन् । रोजगारीको सिलसिलामा बाँझिदै गएका खेतबारीमा पुन कृषि कर्म गर्न युवाहरु जुटेका हुन् । सरकारले आउँदो बजेटमा युवा कृषि केन्द्रित नीति, कार्यक्रम मार्फत सम्वोधन गर्न सकेमा नेपाल कृषि उत्पादनमा आत्मनिर्भर हुँदै जानेछ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update