Shittalpati
युवालाई विदेश पलायन हुनबाट रोकौं

पछिल्लो समय युवा विदेश पलायन हुने क्रम बढ्दै गएको छ । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ । देशमा राजनीतिक स्थिरता कायम भई उद्योगधन्दा सञ्चालनमा आई आर्थिक विकासले गति लिन सकेको खण्डमा युवाहरु विदेश पलायन हुने थिएनन् तर त्यो हुन सकेको छैन । अहिलेको अवस्थामा युवा पलायन देशकै जटिल एवं पेचिलो समस्या बन्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो । उच्च शिक्षा हासिल गर्ने नाममा नेपालका चलायमान युवा जनशक्ति विदेशिने क्रम तीव्ररुपमा अघि बढेको छ । नेपालमा नै बसेर उच्च शिक्षा हासिल गर्ने जनशक्ति दिन–प्रतिदिन घट्दो अवस्थामा रहेको पाइन्छ । हरेक वर्ष हजारौंको संख्यामा युवा जनशक्ति पलायन हुने क्रमलाई रोक्न राज्यसँग कुनै ठोस योजना छैन । मुलुक बनाउने जनशक्ति नै उच्च शिक्षाका नाममा पलायन हुन थालेपछि यसले नेपालको हरेक क्षेत्रमा गम्भीर क्षति पु¥याउने निश्चित हुँदा समेत सरकार मौन बस्नु विडम्वनाको कुरा हो ।

नेपाली युवाहरु कामको खोजीमा विदेश धाइरहँदा नेपालले पुँजी, मस्तिष्क र युवाशक्ति गुमाइरहेको छ । युवाले शिक्षा, स्वास्थ्य र रोजगार चाहेका हुन् । त्यो नभएपछि उनीहरु अहिले भौँतारिएको अवस्थामा छन् । नेपाली समाजमा बढ्दै गएको परनिर्भरतालाई पर सारेर आत्मनिर्भर कसरी हुन सकिन्छ, अहिले सोच्ने बेला आएको छ । देशमा भएका उद्योग, कलकारखानाहरु बन्द गर्नु राम्रो होइन । थप उद्योग, कलाकारखानाहरु सञ्चालन गरेर स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्नेमा उल्टै बन्द गराउनु गलत हो । साँच्चिकै मुलुक बनाउने हो भने उर्जावान युवाहरुलाई स्वदेशै राख्न सक्नुपर्छ तर राजनीतिक दल र सरकारमा अझै पनि आर्थिक, शैक्षिक, औद्योगिक चेतनाको विकास हुन सकेको छैन । जसका कारण युवालाई देशमै रोक्न सकिएको छैन । स्वदेशमै उद्योगधन्दा कलकारखाना सञ्चालन गरी युवाशक्तिलाई यही राखेर काम लगाउन सकेमा आफ्नै ठाउँमा रोजगारीका अवसर सिर्जना हुनुको साथै युवाहरुलाई विदेश पलायनबाट रोक्न सकिन्छ । यसर्थ यसतर्फ सरकार र राजनीतिक दलहरुले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update