Shittalpati
बाढीपहिरोले सडकमा क्षति, जोखिममा बस्ती

हाम्रा संवाददाता
पाल्पा,
दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँहरुमा वितण्डा मच्चाएको छ । बाढीपहिरोबाट यहाँका अधिकासं सडकमा क्षति पुगेको छ भने बस्तीहरु जोखिममा रहेका छन् । बाढीका कारण तिनाउ नदी क्षेत्रमा पर्ने पाल्पा र रुपन्देही आसपासका क्षेत्र जोखिममा छन् । निरन्तरको वर्षाले रुपन्देहीको तिनाउ नदीको बहाब बढेपछि नदी आसपासका बस्ती जोखिमपूर्ण अवस्थामा पुगेका हुन् ।

बाढी मापदन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी पूर्वानुमान महाशाखाले २/३ घण्टाको वर्षा मापनलाई आधार मानेर एसएमएसमार्फत जानकारी दिएर सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । शनिबार अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा सदरमुकाम जोड्ने मुख्य ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बन्न पुगे । पहिरो खस्दा बिहानैदेखि अधिकांश सडकमा यातायात चल्न सकेनन् । शुक्रबार रातिदेखि लगातार पानी पर्न नरोकिएपछि कच्ची बाटो चिप्लो भएको छ भने मुख्य सडक पहिरोले अवरुद्ध बनाएको छ । माटोसहित आएको भेलले समेत सडकमा खाल्डाखुल्डी बनाएको छ भने केही सडक बगाएको छ । निरन्तरको वर्षाले तटीय क्षेत्रमा डुबान र कटान तथा उच्च भागमा पहिरोको जोखिम देखिएको छ । सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक सडक खण्डको चिदिपानी धैरेनीमा लेदो सहित पहिरो खसेको छ । जसका कारण सडक अवरुद्ध हुनुको साथै सडकमा क्षति पुगेको छ । राम्दीदेखि रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्रको सेरामा पनि पहिरो खसेर सडक अवरुद्ध रहयो । लेदो हटाउन २ वटा मेसिन तयारी अवस्थामा रहे पनि लगातारको बर्षाका कारण काम गर्न कठिनाई भएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणी निरौलाले बताए । तानसेन–रिडी सडक खण्डकको ढुङ्गाखानीको तीन लाकुरी खण्डमा पहिरो खस्दा सडक अवरुद्ध हुन पुग्यो ।

यस्तै तानसेन रानीमहल सडक खण्डको रानीमहल माथि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । तानसेन बुटवल सडकखण्डको सिद्धबावा क्षेत्र, पानीमिल क्षेत्रमा बगेको लेदो तथा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चानमा आएको डिभिजन प्रमुख निरौलाले बताए । राजमार्ग क्षेत्र बुटवल तानसेन सडकखण्डको हिउँदे खोलामा स्काभेटर, पानी मिल क्षेत्रमा लोडर, बर्तुङ्गमा जेसीवी आर्यभञ्ज्याङ्गमा लोडरसहित जनशक्ती तयारी अवस्थामा राखेर अवरुद्ध भएको क्षेत्रमा ढिलोमा १ घण्टा भित्र पुग्ने गरी व्यबस्थापन मिलाइएको डिभिजन प्रमुख निरौलाले बताए । पूर्वखोलाको हेक्लाङ्ग, रम्भाको फोक्सिङकोट सडकमा समेत पहिरोका कारण क्षति पुगेको छ ।

अविरल वर्षासँगै खोला नाला बढेर आउँदा जिल्लाका केही खेत कटान र पुरिएको छ । पहिरोका कारण भत्किएका र अवरुद्ध भएका सडकहरू खुलाउन वर्षाका कारण समस्या भइरहेको ट्रफिक प्रहरीले जनाएको छ । सडक बन्द हुँदा सवारी साधानहरु शनिबार अवेरसम्म बीचबाटोमा रोकिएका थिए । केही सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ भने केही ठाउँहरु अवरुद्ध नै छन् ।  

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update