Shittalpati
कुखुरा व्यवसायीको समस्या समाधानमा जुट्दै अध्यक्ष बस्याल

कृष्ण पोखरेल

पाल्पा, एक महिना ५ दिन लामो लकडाउनको कारण कृषकहरुले पालन गरेको कतै मरेको त कतै मारेको समाचार आइरहेको समयमा पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्षले भने कुखुरा व्यवसायीको समस्या समाधानमा लागेका छन् । गाउँपालिका भित्रका कृषकहरुले उत्पादन गरेका हालै विक्री गर्ने कुखुरालाई मासु पसलमा विक्रीको लागि गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले समन्वय गर्दै आएका हुन् । लामो लकडाउनको कारण कृषकहरुले उत्पादन गरेको कुखुरा खपत नभएको, प्रयाप्त दाना नपाउदा कुखुरा फर्म मै मर्ने गरेको कारण कुखुरा व्यवसायीहरुलाई ठूलो मर्का पर्दै आएको छ ।

हालै विक्री गर्ने अवस्थामा पुगेका कुखुरा नबिकेर समस्या परेको छ भने गाउँपालिकाको कार्यालयमा वा आफ्नो मोवाईल फोनमा सम्पर्क गर्न गाउँपालिका भित्रका कुखुरा व्यवसायीहरुलाई अध्यक्ष बस्यालले अनुरोध गरेका छन् । अध्यक्ष बस्यालले समन्वय गरेर वडा २ का जितबहादुर कुमालको १ सय ८० किलो कुखुरा र वडा १ का नरबहादुर रानाको १ सय ५० किलो कुखुरा मासु व्यवसायीसंग समन्वय गरी विक्री गराई दिएका छन । तरकारी कृषकहरुको लकडाउनको कारण भएको क्षतिको विवरण संकलनको काम भईरहेको अध्यक्ष बस्यालले बताए ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update