Shittalpati
पैदल यात्रुुको व्यवस्थापनपछि सडक सुनसान

रुपेन्दही । बुटवल उपमहानगरपालिकाले सडकमा पैदल हिँडेका यात्रुुलाई गन्तव्यमा पुर्याउन थालेपछि सडकमा देखिन छाडेका छन् । सडकमा अलपत्र तथा विभिन्न जिल्ला हिँडिरहेका मजदूरलाई खानाको व्यवस्था गरी गन्तव्यसम्म पुर्याउने गरी व्यवस्थापन गरेपछि सडक सुनसान देखिएको हो ।

यसअघि साँझ र बिहान मानिसको बढी चहलपहल हुने गरेको थियो । विभिन्न जिल्ला जाने मजदूर अलपत्र परेपछि उपमहानगरपालिकाको आलोचना हुने गरेको थियो । अलपत्र यात्रुलाई गन्तव्यसम्म पुर्याउनका लागि बुटवल धागो कारखाना अगाडि र पाल्पाको सिद्धबाबामा बस तयारी अवस्थामा राखिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । उनले सम्बन्धित पालिकासँग समन्वय गरी यात्रु व्यवस्थापन गरिएको पनि बताए ।

अलपत्र अवस्थामा रहेकालाई खानाको व्यवस्था गरी गन्तव्यमा पुर्याउने काम भएपछि लकडाउनका बेला पैदलयात्रुुले राहत महसुस गरेका छन् । उपमहानगरपालिकाले चार दिनयता अलपत्र परेका करीब एक हजार तीन सय व्यक्तिलाई खाना खुवाएको छ । नेकपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले लकडाउनका बेला खान नपाएर कोही पनि भोकै बस्नु पर्दैन भन्दै यसका लागि पार्टीले स्थानीय सरकारसँग समन्वय गरिरहेको बताए ।

तामनगरको कोरियन टेक्निकल इन्ष्टिच्युुट परिसरमा अलपत्र परेका यात्रुका लागि खानाको प्रबन्ध गरिएको र यसका लागि पार्टीले समन्वय गरिरहेको पनि उनले जानकारी दिए । लकडाउनका बेला अत्यावश्यक कामविना घरबाहिर ननिस्कन उहाँले नगरबासीलाई आग्रह गरे । प्रातः र सायंकालीन भ्रमणका निहुँमा भीडभाड हुने गरेकाले उपमहानगरपालिकाले बिहान ८ बजेभन्दा पहिले र बेलुका ५ बजेपछि घरबाट ननिस्कन अनुरोध गरेको छ । साथै दैनिक अत्यावश्यक सामान मात्र बिहान ८ देखि बेलुका ५ बजेसम्म खरीदबिक्री गर्न दिने व्यवस्था गरिएको छ । –रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update