Shittalpati
तानसेनमा भोलि ‘महिनावारी मेला’ हुुँदै  

पाल्पा, जिल्लाको तानसेनमा भोलि महिनावारी मेला हुन लागेको छ । रोट्रयाक्ट क्लब अफ पाल्पा लुम्बिनीले महिनावारी दिवसको अवसर पारेर साताव्यापी कार्यक्रम अन्तर्गत जेठ १३ गते शनिबार तानसेनको टुँडिखेलमा महिनावारी मेला आयोजना गर्न लागेको हो ।  

महिनावारीप्रतिको अनभिज्ञतालाई हटाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको क्लवकी पव्लिक रिलेसन अफिसर स्नेहा बस्नेतले बताईन् ।  महिनावारी हुनु भनेको एउटा प्राकृतिक प्रक्रिया हो । यसलाई केवल एक सरल जैविक प्रक्रिया नभई जटिल सामाजिक, सांस्कृतिक, पारम्परिक र सामाजिक वर्गीकरणको कारण बनेको छ । महिनावारीसँग जोडिएको सामाजिक लाञ्छनाले गर्दा रजस्वलाको बेला प्रयोग गरिने प्याडलगायत अन्य साधनबारे महिलाले खुलेर बोल्न सकेका छैनन् । यसले गर्दा महिनावारीको साधनमा सर्वसुलभ पहुँचको अभावले पनि रजस्वलाको अनुभव, स्वास्थ्य र महिलाको स्वाभिमानलाई प्रतिकूल प्रभाव पारेको छ । प्राकृतिक प्रक्रियाबारे ग्रामीण क्षेत्रमा नकारात्मक सोच र भ्रम समेत छन् । रजस्वला सम्बन्धीकै गलत धारणा र अन्धविश्वास चिर्नका लागि मेला आयोजना गरेको बस्नेतले शितलपाटीलाई बताईन् । उनले भनिन् ‘मेलामा प्रजनन स्वास्थ्य, सरसफाइ र महिनावारीमा आवश्यक खानपिनको विषयमा विस्तृत जानकारी दिनुुको साथै पुनः प्रयोग गर्न मिल्ने प्याडबारे स्थानीयलाई सचेत गराईने, प्याडको प्रयोग र फाइदाका विषयमा समेत ज्ञान प्रदान गरिने छ ।’ बस्नेतले तानसेनवासी सम्पूर्ण दिदी बहिनी, विद्यार्थीहरुलाई मेलामा आउन आग्रह समेत गरेकी छन् ।

उनका अनुसार क्लवले मे २२ देखि साताव्यापी रुपमा महिनावारी सप्ताह मनाउँदै आएको छ । सप्ताह कार्यक्रम अन्तर्गत सरस्वती मावि र पोलस्टार ,विस्डम माविमा अध्ययनरत विद्यार्थीहरुलाई महिनावारीका बारेमा जानकारी गराउनुुको साथै प्याडको प्रयोग र निर्माण गर्ने तरिका सिकाइएको थियो ।  यस्तै क्लवले आमसमूहमा आवद्ध महिला दिदी बहिनी तथा आमाहरुलाई गर्भ अवस्थाका बारेमा पनि जानकारी गराएको थियो । भोली हुुने मेलाको तयारी अन्ति चरणमा पुुगेको क्लवले जनाएको छ । मेला विहान १० बजेदेखि ५ बजेसम्म हुने जनाइएको छ । मेलामा नाँच गान, विभिन्न सन्देशमूलक प्रचारको स्टल, कला, कविता प्रतियोगिता समेत रहने क्लवले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update