Shittalpati
तानसेनमा ‘कृषि एम्बुलेन्स’सञ्चालनमा

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा कृषि एम्बुलेन्स सञ्चालनमा आएको छ । लकडाउनका समयमा किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको ढुवानी सहज बनाउनुको साथै नागरिकलाई सुपथ मूल्यमा सहजै घर–घरमा तरकारी पुर्‍याउने उद्देश्य अनुरुप तानसेन नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । नगरपालिकाद्वारा गठित तानसेन युवा परिषदको व्यवस्थापनमा आईतबारदेखि कृषि एम्बुलेन्स सञ्चालनमा आएको छ ।

लकडाउनका कारण आम कृषक र नागरिक समस्यामा परेकाले उनीहरुको सेवालाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख अशोक कुमार शाहीले बताए । उनले भने‘वर्तमान विषम परिस्थीतीमा कृषकले उत्पादन गरेको तरकारी बारीमै नकुहुन र सुपथ मूल्यमा उपभोक्ताले घरमा सहजै पाउन सकुन भन्ने हाम्रो उद्देश्य हो ।’

आईतबार एम्बुलेन्स सेवामार्फत २ हजार पाँचसय किलो ताजा तरकारी बिक्री गरिएको युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले बताए । तरकारी उत्पादन गर्ने किसान र उपभोक्ताबीच पुलको काम गर्नका लागि कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष आत्रेयले जनाए । उनले सामाजिक सञ्जालमै सूचना जारी गर्दै सोमबार पाँच वटा गाडिमा तरकारी घर–घरै आउने हुँदा घरमै बसी सेवा लिन आम नागरिकलाई आग्रह समेत गरेका छन् ।

अध्यक्ष आत्रेयका अनुसार काउली प्रति केजी २० रुपैयाँ, बन्दा १० रुपैयाँ, काक्रो ,३५ रुपैयाँ र सीमी ४० रुपैयाँमा विक्री गरिएको छ । उनले आइतबार बिहान तरकारीका लागि २ गाडी प्रयोग भएकोमा माग बढी देखिएपछि सोमबारदेखि ५ वटा गाडी प्रयोग गरिने बताए ।

आईतबार मदनपोखराका कृषकहरुले उत्पादन गरेको तरकारी विक्री गरिएको थियो भने माग अत्याधिक भएकाले सोमबार अर्गली र अन्य स्थानबाट समेत तरकारी ल्याईने परिषद्का अध्यक्ष आत्रेयले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update