Shittalpati
रामपुर नगरपालिकाले बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने

इमान सिं राना

पाल्पा(रामपुर), विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण निम्तन सक्ने सम्भावित खाद्यान्न संकट टार्न रामपुर नगरपालिकाले बाँझो जमिन सदुपयोग गर्ने कृषकलाई अनुदान दिने भएको छ । २ वर्ष देखि बाँझो रहेका खेतीयोग्य जमिन सदुपयोग गरी मकै र तरकारी खेती गर्ने कृषकलाई नगरपालिकाले अनुदान दिने भएको हो । खाद्यान्नको लागि मकै खेती बाट उत्पादन छिटो लिन सकिने भएकाले मकै खेती गर्ने कृषकलाई प्रति रोपनी ३ हजार र तरकारी खेती गर्ने कृषकलाई प्रति रोपनी ५ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको हो । कृषकहरुलाई मल, वीउ र खनजोतका लागि अनुदान दिन लागेको रामपुर नगरपालिकाका प्रवक्ता एवं आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपाने जानकारी दिए । न्यौपानेले व्यक्तिगत तथा सामुहिक रुपमा खेती गर्ने कृषकहरुलाई अनुदान दिन लागेको बताए ।

। रामपुर नगरपालिकाको आर्थिक विकास परियोजना संञ्चालन समितिको शनिबार बसेको बैठकले अनुदान दिने निर्णय गरेको हो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आर्थिक संकट टार्न कृषि नै उपयुक्त भएको बताउँदै तत्काल खाद्यान्न आपूर्तिको लागि मकै खेतीमा अनुदान दिन लागेको बताए । थापाले भने ‘एक तर्फ नगरपालिका भित्रको खेतीयोग्य जमिन बाँझो रहने र अर्को तर्फ खाद्यान्न संकट आउन सक्ने सम्भावना भएकाले समयमै समस्या समाधानका लागि नगरले यस्तो निती लिएको हो ।’ कोरोना भाईरसको कारण समग्र आर्थिक क्षेत्र अस्तव्यस्त बनेकाले आर्थिक स्तर सुधारको उपाय कृषि भएको निष्कर्ष निकाल्दै अनुदान दिने घोषणा गरिएको हो । साथै नगरपालिकाले यस्तो निर्णय लिए संगै दुई वर्ष देखि बाँझो रहेका खेती योग्य जमिनमा मकै तथा तरकारी खेती गर्न इच्छुक व्यक्ती तथा समुहलाई बैशाख ११ गते भित्र वडा कार्यालयमा निवेदन दिन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update