Shittalpati
सबैको उत्सव, पाल्पा महोत्सव, आजदेखि सुरू

रामचन्द्र रायमाझी
पाल्पा, पाँच वर्षपछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बूढाबूढी, युवा र युवती, सबैको लागि पाल्पा महोत्सव उत्सवमय बन्ने छ । गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । आजदेखि यहाँ फरक प्रकृतिको माहोल हुँदैछ । लामो समयको कोरोना महामारीले सुुनशान बनेको तानसेन फेरि एक पटक गुञ्जायमान बन्दैछ । तानसेनको टुँडिखेल दुलहीझैँ सिँगारिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा पाल्पामा पहिलोपटक २०६० मा सुरु भएको मेला महोत्सवले अहिले पनि निरन्तरता पाएको छ ।

‘सम्मानित निजी क्षेत्रः समुुन्नत नेपाल, हामी सबैको उत्सव, पाल्पा महोत्सव’ भन्ने मूल नाराका साथ पाल्पा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १३ औं व्यापार महोत्सव आजदेखि सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको पाल्पा महोत्सव २०८० मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । मेलामा ३ सय स्टल रहेका छन् । महोत्सवबाट २ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोवार गर्ने अपेक्षा रहेको उनले बताए । महोत्सबाट बचेको रकमको केही प्रतिशत २१ औं शताब्दीको सचिवालय व्यवस्थापन, पर्यटन क्षेत्रको विकास, केही रकम व्यवसायी हितकोषमार्फत व्यवसायीहरुको हकहित र सामाजिक उत्तरदायित्वमा खर्चिने अध्यक्ष भट्टराईले बताए । महोत्सवमा महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनी रहने जनाइएको छ ।

शैलेन्द्र भट्टराई
अध्यक्ष
मूल आयोजक समिति
महोत्सवले चौतर्फी व्यवसायमा सहयोग गर्नेछ । सुस्ताएको व्यवसाय माथि उठाउन महोत्सवले इट्टा थप्ने छ । यसले व्यवसायी बीच सहकार्य गर्ने समेत अवसर दिन्छ । कोरोना महामारीमा पर्यटन क्षेत्र ज्यादै चुनौतीपूर्ण बनेका बेला पुनः यसमा सुधार ल्याउन महोत्सवले टेवा पुग्नेमा विश्वास लिएका छौं ।

त्यस्तै स्थानीय खानाको परिकार, पाल्पाली करुवा, रानीमहलको स्वरुप, बाल उद्यान, लोकसंस्कृति झल्कने गीत तथा नृत्य पनि महोत्सवमा प्रस्तुति रहने छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । पाल्पाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक, पर्यटकीय स्थलको प्रचारप्रसार, घरेलु तथा कुटिर उद्योग प्रवद्र्धन, कला संस्कृतिको संरक्षण लागि महोत्सव आयोजना गरिएको संघले जनाएको छ । महोत्सवमा पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा विक्रि समेत राखिने छ । मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति पनि रहने छ । संघले कोभिड १९ का कारण धरासय भएको उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई माथि उकास्न यस वर्षको महोत्सवले महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको छ । कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धन गर्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने लक्ष्य पनि संघले लिएको छ । महोत्सवले चौतर्फी व्यवसायमा सहयोग गर्ने संघका अध्यक्ष भट्टराईले बताए । ‘सुस्ताएको व्यवसाय माथि उठाउन महोत्सवले इँटा थप्नेछ,’ उनले भने, ‘यसले व्यवसायीबीच सहकार्य गर्नेसमेत अवसर दिन्छ ।’ कोरोना महामारीमा पर्यटन क्षेत्र ज्यादै चुनौतीपूर्ण बनेका बेला पुनः यसमा सुुधार ल्याउन महोत्सवले टेवा पुग्नेमा उनले विश्वास व्यक्त गरे । ‘अब चाहिँ घुमघाम, व्यापार–व्यवसाय गर्ने वातावरण केही सहज भएको रहेछ भन्ने प्रचार गर्न महोत्सव आयोजना गर्न लागेका हौं,’ अध्यक्ष भट्टराईले भने, ‘हामी लामो समयदेखि मेला–महोत्सव आयोजना गर्दै आएका छौं, यसले यहाँको आर्थिक अवस्था चलायमान बनाउन सहयोग पुगेको छ ।’

विदुर घिमिरे
संयोजक
प्रचार–प्रसार समिति
महोत्सवको सबै तयारी सकिएको छ । पाल्पा महोत्सव विगतभन्दा अझ भव्य र प्रभावकारी बनाउने योजना छ । अहिले सबैको ध्यान पाल्पा महोत्सवमा केन्द्रित भएको छ । पर्यटन प्रवद्र्धनको अभियानमा स्थानीय जुट्ने छन् भन्ने हाम्रो अपेक्षा छ ।

रानीमलको स्वरुपमा पाल्पाली ढाकाले सचिवालय सजाइएको छ । महोत्सवमा १६ वटा निशुल्क स्टलहरु रहने छन् । जसमा सुरक्षा निकाय, स्थानीय तह, कृषि, स्वास्थ्य जस्ता क्षेत्रका स्टल रहने महोत्सव प्रचार–प्रसार समितिका संयोजक विदुर घिमिरेले बताए । उनका अनुसार महोत्सवमा संघका सदस्यहरु, जेष्ठ नागरिक, फरक क्षमताका व्यक्तिलाई प्रवेश निःशुल्क गरिएको छ । महोत्सवको सबै तयारी सकिएको प्रचार–प्रसार संयोजक घिमिरेले बताए । ‘पाल्पा महोत्सव विगतभन्दा अझ भव्य र प्रभावकारी बनाउने योजना छ,’ उनले भने, ‘सबै तयारी पूरा भइसकेको छ । सबैको ध्यान पाल्पा महोत्सवमा केन्द्रित भएको छ र पर्यटन प्रवद्र्धनको अभियानमा स्थानीय जुट्ने छन् भन्ने हाम्रो अपेक्षा छ ।’

महोत्सव वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने छ । यस अघि तानसेन नगर सरकारले मेला, महोत्सव गर्न रोक लगाएपछि संघले बतासेडाँडा, श्रीनगर वा बाँसटारी क्षेत्र मध्ये कुनै एक ठाउँमा गर्ने योजना बनाएको थियो । मेला महोत्सवका लागि यी स्थान उपयुक्त नहुँने र टुँडिखेल नै उपयुक्त स्थान रहने भन्दै चौतर्फी आवाज उठेपछि अन्ततः तानसेन नगर सरकारले टुँडिखेलमा महोत्सव गर्न स्वीकृत दिएको हो । नगर सरकारले दुबो संरक्षण गर्ने गरी महोत्सवका लागि अनुमति दिएसँगै संघले महोत्सव टुँडिखेलमा गर्न लागेको हो । रोपेको दुबोको संरक्षणका लागि वरिपरी बारबन्देज गरी टुँडिखेलको सौन्र्दय नबिग्रीने गरी महोत्सव गर्न लागिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update