Shittalpati
आज तीन जिल्लामा उपनिर्वाचन हुँदै

रामचन्द्र रायमाझी
पाल्पा, बारा–२, चितवन–२ र तनहुँ–१ मा आज उपनिर्वाचन हुँदै छ । आमनिर्वाचन भएको पाँच महिनामै यी तीन जिल्लामा उपनिर्वाचन हुन लागेको हो । गत मंसिर ४ को आमनिर्वाचनमा विजयी भएका नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा चुनिएपछि तनहुँ–१ मा उपनिर्वाचन हुुन लागेको हो ।

यस्तै जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अदालतको आदेशबाट सांसद पद गुमेपछि चितवन–२ मा उपनिर्वाचन गर्नुपरेको हो । निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी पुुरा भएको जनाएको छ । मतदानस्थत, सुरक्षाकर्मी, मतपेटीका संकलन केन्द्र लगायतका सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । मतदान आज बिहान ७ देखि साँझ ५ बजेसम्म जारी रहने छ । तनहुँ–१ मा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, सहित ९ वटा पार्टीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै, चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमालेसहित १२ वटा दलका उम्मेदवार र १२ जना स्वतन्त्र गरी २४ जना चुनावी प्रतिस्पर्धामा छन् । उता, बारामा समेत प्रमुख दलका उम्मेदवार सहित ३६ जनाको उम्मेदवारी परेको छ । ३ स्थानको उपनिर्वाचनका लागि ५७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । सबैको ध्यान चितवन–२ उपनिर्वाचनमा रहेको छ । यसअधिको आमनिर्वाचनमा भारी मतका साथ निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको के होला भनेर धेरैको चासो रहेको छ । दोहोरो राहदानी र नागरिकतासम्बन्धी मुद्दा तथा छोटो समय गृहमन्त्री हुँदा गरेका केही निर्णयका कारण लामिछानेप्रति मतदातामा संशय बढेको देखिन्छ । यसले गर्दा लामिछानेको पक्षमा अघिल्लो निर्वाचनमा भन्दा कम उत्साहज देखिएको छ । तर पनि आमनिर्वाचनको जनमत जोगाउने दौडधुपमा उनी छन् । जनमत उल्ट्याउने प्रयासमा भने काँग्रेस र एमाले रहेका छन् । काँग्रेसबाट पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन् । यस अघिको निर्वाचनमा काँग्रेस दोस्रो र एमाले तेस्रो भएका थिए । अहिले काँग्रेस र एमालेका दुवै नेता जनता माझ उत्तिकै लोकप्रिय मानिन्छ । त्यसैले यहाँका निर्वाचन कसको पोल्टामा जान्छ भन्न सकिदैन ।

यस्तै बारा २ मा पनि चुनावी प्रतिस्पर्धा रहेको छ । यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव गठबन्धनका कारण चुनावी अंकगणितमा अगाडि देखिन्छन् तर उनी ढुक्क हुने अवस्था छैन् । उनलाई सप्तरीमा पराजित गरेका सीके राउतकै दलले कडा चुनौती दिइरहेको छ । मंसिरको निर्वाचनमा ३ सय ५४ मतान्तरले दोस्रो भएका शिवचन्द्रप्रसाद कुशवाहलाई राउतले जनमत पार्टीमा प्रवेश गराई पुनः उम्मेदवार बनाएका छन् । जसपाबाट उम्मेदवार रहेका अहिलेका उपराष्ट्रपति रामसहायले गत मंसिरमा १३ हजार ८ सय २२ मत ल्याएका थिए । त्यति बेला जसपालाई एमालेले सघाएको थियो । अहिले एमालेले आफ्नै उम्मेदवार उठाएको छ । कुशवाह भने काँग्रेस नेतृत्वको गठबन्धनबाट माओवादीका उम्मेदवार थिए । यहाँ एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल प्रतिस्पर्धामा छन् । यस्तै तनहुँमा – २ को निर्वाचनलाई पनि उत्तिकै चासोका साथ हेरिएको छ । यहाँ सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका काँग्रेसका गोविन्द भट्टराईका लागि एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले चुनौती बनेका छन् । गत आमनिर्वाचनमा काँग्रेसबाट टिकट लिने प्रयास गरेका अर्थशास्त्री वाग्ले काँग्रेस शिर्ष नेतृत्वबाट असन्तुुष्ट भएपछि रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । पूर्वप्रहरी प्रमुख खनाल मंसिरको निर्वाचनमा काठमाडौं–६ बाट पराजित भएका थिए । यहाँ काँग्रेस, एमाले र रास्वपाका उम्मेदवारबिच नै प्रतिस्पर्धा देखिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update