Shittalpati
रिब्दीकोट सरकार : बिना लगानीका कार्यक्रम प्रभावकारी बन्दै

कृष्ण पोखरेल
पाल्पा, पछिल्लो समय अधिकांश स्थानीय सरकारले ठूलो लगानीमा कार्यक्रमहरु गर्दै आएका छन् । कार्यक्रम समान्य भएपनि लगानी ठूलो गर्ने होडमा स्थानीय सरकार छन् । तर त्यही मोटो रकम खर्चेर गरेका कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन् । केही यस्ता स्थानीय सरकार पनि छन्, जसले विना लगानीमा थुप्रै जनमैत्री कार्यक्रमहरु गर्दै आएका छन् ।

‘म बनाउँछु मेरो रिब्दीकोट’ भन्ने अभियान सञ्चालन गरेको पाल्पाको रिब्दीकोट गाउँपालिकाले विना लगानीमा केही उल्लेखीय कार्यक्रमहरु गरेको छ । उसले सडक निर्माण गर्ने, खाल्टा खुल्टी पुर्ने, स्वास्थ्य संस्था, मन्दिर तथा ऐतिहासिक स्थलहरुको सरसफाई गर्नेदेखी बृहत स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरु बिना लगानीमा गर्दै आएको छ । मन, योजना, ईच्छा शक्ति भए विकास तथा जनताको सेवा गर्न पैसा खर्च गर्नु पर्दैन भन्ने सन्देश पालिकाले दिएको छ । अन्य स्थानीय सरकारले लाखौं, करोडौ खर्चेर गरेका कार्यक्रमहरु निष्प्रभावी हुँदै आएका बेला रिब्दीकोटमा विना लगानीमा गरेका कार्यक्रमहरु दिगो र प्रभावकारी बन्ने गरेका छन् । पालिकाले स्वयंसेवी अभियानमार्फत केही उल्लेखीय काम गरेको छ । यहाँ अध्यक्ष नारायणबहादुर कार्कीको नेतृत्वमा चालु आर्थिक वर्षदेखि ‘म बनाउँछु मेरो रिब्दीकोट’ अभियान सञ्चालनमा छ । पालिका भित्रका नागरिक र पेशा, व्यवसाय, रोजगारका लागि बाहिर रहेका व्यक्ति, संघ संस्थाहरुको सहयोग र लगानीमा अभियानमार्फत सामाजिक कामहरु हुँदै आएका छन् ।

स्वयंसेवीहरुको सहयोगमा सडक निर्माणदेखि धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको सरसफाई र सरंक्षणमा काम गरेको पालिकाले बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उसले १८ वटा विशेषज्ञ उपचार सेवासहित पालिकाभरीका जनतालाई लक्षित गरी बतासेमा बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा जनरल फिजिसियन, नाक कान घाँटी, बालरोग, महिला रोग, पाठेघर क्यान्सको जाँच, दन्तरोग, हाडजोर्नी, नशारोग, आँखा जाँच, सुगर जाँच, भिडियो एक्सेरे, ल्याव सेवा, जनरल सर्जरी विशेषज्ञ उपचार सेवा प्रदान गरिएको थियो । शिविरमा विरामीहरुलाई निःशुल्क रुपमा सबै किसिमका औषधी वितरण गरिएको थियो । शिविरमा ६ सय भन्दा बढी विरामीहरुले विशेषज्ञ उपचार सेवा पाएका छन् । पैसा नहुँदा, अस्पतालहरु जान नसक्दा रोग लुकाएर बस्न बाध्य भएका विरामीहरु शिविरबाट भने लाभान्वित भएका छन् । बुटवलमा शिक्षा क्षेत्रमा आवद्ध रिब्दीकोट ५ कसुमखोलाका कपिल आचार्यको संयोजनमा निःशुल्क स्वास्थ्य शिविर चलाइएको हो । ‘म जन्मे, हुर्के, यही ठाउँमा पढे, आज बुटवलमा बसेर शिक्षा क्षेत्रमा काम गर्ने अवसर पाएको छु । गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीजीको सल्लाहमा म बनाउँछु मेरो रिब्दीकोट अभियान अन्तर्गत रोटरी इ.क्लव अफ मेडिकोफियुजन हाइव्रिड नेपालको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो’ संयोजक आचार्यले भने ‘यही कार्यक्रम सञ्चालनका लागि एक दिनमा १० लाख बन्दा बढी रकम खर्च हुन्छ । तर हामीले पालिकाप्रति सर्मपित भएर पुण्य कार्यमा सहभागी भएका हौं ।’ शिविरमा अधिकांश महिला विरामीको संख्या अत्याधिक रहेको देखिन्छ । खुट्टा झम्झम् गर्ने, शरीर चस्किने, हातखुट्टा पोल्ने, शरिर दुख्ने, आँखा नदेख्ने भएर जचाँउन आएको ७५ वर्षीया मान कुमारी सार्कीले बताइन् । उनले भनिन् ‘फिरीमा जचाँए, अब औषधी लिएर घर जान्छु, धेरै हिड्डुल गर्न सक्दिन ।’ ‘लौरो टेकेर आएकी छु, कम्बरबाट मुनि दुख्छ, बेला बेलामा कोखो दुख्छ, डाक्टरले भिडियो एक्सरे गरेर हेर्ने भन्नुभयो, त्यसैको लागि पालो कुरेर बसेकी छु’ मैनादीकी ७५ बर्षीया सुना नेपालले भनिन् । गेष्टिकको समस्या भएर जचाउँन आएको अर्का विरामी ७४ वर्षीय रुम बहादुर थापाले बताए । बताँसेकी कान्ता कुमारी गाहाले पनि आखा नदेख्ने, हातखुट्टा दुखेर छोरी लक्ष्मी गाहाको साहारामा शिविरमा पुगेर निशुल्क उपचार गरेकी छन् । गाउँमै शिविरमार्फत सेवा लिन पाएपछि विरामीहरु उत्साहित भएका छन् ।

‘गाउँपालिकामा बजेट निकै थोरै छ, आन्तरिक आम्दानी निकै न्यूून रहेको छ, पैसाले मात्र गाउँ ठाउँको विकास गर्न सकिदैन, सामाजिक अभियानबाट विना लगानी धेरै राम्रा कामहरु गर्न सकिन्छ, रिब्दीकोटवासीलाई सामाजिक अभियानमा जोड्न सकिन्छ भनेर म बनाउँछु मेरो रिब्दीकोट अभियान कार्यक्रम अन्तर्गत बृहत स्वास्थ शिविर आयोजना गरिएको हो’ गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले भने । ‘पालिकाको हरेक गतिविधी नमूना योग्य बनाउनु पर्छ, विना बजेट, विना लगानी पनि स्वयमसेवी रुपमा लाखौंका कामहरु गर्न सकिन्छ भनेर अभियान चलाएका हौं’ पालिका उपाध्यक्ष कान्ता अधिकारीले भनिन् ।

स्वास्थ शिविरमा धेरै आमा, दिदीबहिनीहरु उपचारमा आएको देख्दा पून्य काम गरेको महशुस भएको उपाध्यक्ष अधिकारीले बताइन् । अभियानमार्फत स्वयमसेवी रुपमा आम जनताबाट बाटो घाटो निर्माण गर्ने, खाल्टा खुल्टी पुर्ने, स्वास्थ्य संस्था, मन्दिर तथा ऐतिहासिक स्थलहरुको सरसफाईदेखी बृहत स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरु गर्दै आइएको प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताए । शिविरमा ५ सय ८२ जनाले सेवा लिएका छन् ।

जसमा मधुमेह ९० जना, आँखा ९२, नाक कान घाँटीका ४६ जना, जनरल फिजिसियन १५९ जना, भिडियो एक्सरे १२१ जना, हाडजोर्नी नसा १३२ जना, दातमुख १८ जना, स्त्रीरोग ९१ जना, बालरोग २० जना, मानसिक परामर्श सेवा १७ जना, पाठेघरको क्यान्सर ५० जना र जनरल सर्जरी १४ जनाको उपचार गरी निःशूूल्क औषधी वितरण गरेको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update