Shittalpati
प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत

हाम्रा संवाददाता
पाल्पा, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक विश्वासको मत पाएका छन् । प्रचण्डले यसअघि २६ पुसमा विश्वासको मत लिएका थिए । चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले तीन महिनाको बीचमा दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

उनलाई १ सय ७२ सांसदले विश्वासको मत दिएका छन् । संसदमा उपस्थित २ सय ६२ सांसदमध्ये ८९ सांसदले विपक्षमा मत दिए । मत दिन्नमा एक मत खसेको छ । नेमकिपा मत दिन्न भन्ने पक्षमा उभिएको हो । प्रधानमन्त्रीलाई विश्वासका लागि १ सय ३८ सांसदको मत आवश्यक थियो । प्रचण्ड १० पुसमा १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेसँग गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले काँग्रेससहित दस दलीय गठबन्धन बनाएपछि पुनः विश्वासको मत लिएका हुन् । एमालेलगायत दलहरूले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई यस पटक काँंग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् । यस पटक एमाले र राप्रपाले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गरे भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ रह्यो । सरकार गठन र सभामुख चयनका बेला तय भएको सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्री आफैंले परित्याग गरी राष्ट्रपति निर्वाचनमा अर्कै समीकरणमा लागेपछि दाहालले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको सिर्जना भएको हो ।

सोमबार प्रचण्डलाई विश्वासको मत दिए पनि धेरैले शंका गरेका छन् । फेरि विश्वासको मत दिनुपर्ने अवस्था त आउँदैन भन्दै धेरैले मत व्यक्त गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी वैशाख दोस्रो हप्ता प्रधानमन्त्री दाहालले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने त होइन भन्ने आशंका उत्पन्न भएको बताएका छन् । त्यस्तो आशंका उत्पन्न भएकोलाई अस्वाभाविक भन्न पनि नसकिने उनले बताए । प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेपालले गठबन्धनले मुलुलाई राजनीतिक स्थिरता दिनुपर्ने बताए ।‘वैशाखको अर्को हप्तामा फेरि विश्वासको मत लिनुपर्ने अवस्था त आउँदैन ? यो आशंका गर्नु अस्वाभाविक ठान्दिनँ,’ उनले भने, ‘तर त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ । अब यो गठबन्धन आउने पाँच वर्षसम्म टिक्छ, देशलाई राजनीतिक स्थायित्व दिन्छ ।’ नेपालले मात्र होइन प्रधानमन्त्रीलाई विश्वासको मत दिने अधिकांश सासंदहरुले फेरि पनि विश्वासको मत दिनुपर्ने अवस्था सिर्जना हुने त हैन भन्दै शंका उत्पन्न गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update