Shittalpati
आज राष्ट्रपति निर्वाचन : कसले मार्ला बाजी ?

पाल्पा, मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मदान हुँदै छ । काठमाडौंको बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

राष्ट्रपति निर्वाचनका लागि दुुई जना चुनावी मैदानमा छन् । नेकपा एमालेबाट सुवास चन्द्र नेम्वाङ र आठ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा छन् । दुुवै उम्मेदवारले जित आफ्नो पक्षमा रहेको दावी गर्दै आएका छन् । गोप्य मतदान हुने भएकाले कसको पक्षमा मत जान्छ भन्न सकिने अवस्था भने छैन् । यद्यपी अंक गणितको हिसावले भने काँग्रेसका रामचन्द्र पौडेलले जित्न सक्ने सम्भावना भने प्रवल देखिन्छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्मा ३ सय ३४ सदस्य छन् । त्यस्तै, ७ वटै प्रदेशमा ५ सय ५० प्रदेशसभा सदस्य छन् । संघीय संसद र प्रदेशको कुल ८ सय ८१ मतदाता रहने छन् । संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुन बमोजिम फरक हुने व्यवस्था छ । संघीय संसद्का कुल ३ सय ३३ सदस्यको कुल मतभार (प्रति सदस्य ७९ का दरले) २६ हजार ३ सय ७ हुन आउँछ ।

त्यस्तै, प्रदेशसभाका कुल ५ सय ५० सदस्यको कुल मतभार (प्रति सदस्य ४८ का दरले) २६ हजार ४ सय हुन आउँछ । यसरी राष्ट्रपति (उपराष्ट्रपतिको पनि) निर्वाचनमा कुल मत ५२ हजार ७ सय ७ हुन आउँछ । कुल मतको ५० प्रतिशत २६ हजार ३ सय ५३ दशमलव ५ हुन आउँछ । कम्तीमा त्यो संख्या कटाउन सक्ने उम्मेदवार विजयी हुने छन् । संसदको प्रमुख दल नेपाली कांग्रेसको संघीय सदनमा ९८ सांसद छन् । प्रतिनिधिसभामा ८८ र राष्ट्रिय सभामा १० सांसद सहित काँग्रेस ठूूलो दलका रुपमा रहेको छ । उसको सात प्रदेश सभामा १ सय ७६ सांसद छन् । कांग्रेससँग मात्रै १६ हजार २ सय ६९ मतभार छ । संसदको दोस्रो ठूूलो दल एमालेसँग १५ हजार १ सय ५४, माओवादी केन्द्रसँग ७ हजार ६ सय ४९, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५ सय ८०, राप्रपासँग २ हजार ४ सय ५०, जसपासँग २ हजार १ सय ४५ मतभार छ । त्यस्तै, एकीकृत समाजवादीसँग २ हजार ५ सय ७४, जनमत पार्टीसँग १ हजार २ सय ४२, लोसपासँग ९ सय ७१, नागरिक उन्मुक्ति पार्टीसँग ८ सय १३, नेमकिपासँग २ सय २३, राष्ट्रिय जनमोर्चासँग २ सय ६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र हाम्रो नेपाली पार्टीसँग ९६ मतभार छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी सांसदहरुको संख्या १८ छ । उनीहरुसँग कुल १ हजार ५० मतभार हुन्छ । संघीय संसद्का २ सय ७५ सांसद्रुमध्ये २ सय ७० जनाले मात्रै मतदान गर्ने छन् । सांसद्मा निर्वाचित भएपनि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद् पद खारेज भएको छ । जनता समाजवादी पार्टीकी सांसद् सहनाज रहमानको फागुन १३ गते निधन भएको छ । यस्तै दुईजना संघीय सांसद् भने मतदान गर्नबाट छुट्ने भएका छन् । सांसद द्वय चन्द्र भण्डारी र वर्षमान पुन राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट छुट्ने भएका हुन् । नेपाली कांग्रेसका सांसद् भण्डारी र माओवादी केन्द्रका सांसद् पुन विदेशमा उपचाररत छन् । राष्ट्रपतिको निर्वाचनसम्म राजनीतिमा कुनै परिवर्तन नआए अहिलेको आठ दलीय गठबन्धनका उम्मेदवार पौडेल नै राष्ट्रपति बन्ने निश्चित छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update