Shittalpati
अमरनारायण मन्दिरको जीर्णाेद्धारमा लापरवाही, सरोकारवाला निकाय मौन

कृष्ण पोखरेल
पाल्पा, झण्डै २ सय १६ वर्षअघि अमरसिंह थापाले काठमाडौंका नेवार कालिगड झिकाएर पाल्पाको तानसेनमा बनाएको ऐतिहासिक कलात्मक अमरनारायण मन्दिरको जीर्णोद्धारमा लापरवाही भएको छ । तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको पुरातात्तिवक महत्वको मन्दिरको मर्मत सम्भारमा अहिले लापरवाही भएको हो ।

२०७८ साल फागुन २६ गते दिउँसो २ बजे मन्दिरको दक्षिण पूूर्व भागको झिगटीले छाएको छाना भत्किएको थियो । ऐतिहासिक महत्व बोकेको मन्दिर भत्किदा समेत केही समयसम्म कसैले चासो देखाएनन् । चौतर्फी दवाब पछि तानसेन नगरपालिकाले त्यसको मर्मत सम्भार गर्ने जिम्मेवारी लियो । बहुमूल्य काष्ठकलाबाट निर्मित मन्दिरको जीर्णद्धारका लागि नगर सरकारले चालु आर्थिक बर्षको बजेटबाट १ करोड ५ लाख २९ हजार बजेट विनियोजन गरी काम सुुरु गर्‍यो । रत्न निर्माण सेवा काठमाडौले मन्दिर जीर्णाेद्धार काम गर्दै आएको छ । तर अहिले पुर्ननिर्माण भएको मन्दिर २०७८ साल फागुन २६ गतेको जस्तो छैन् । मन्दिरको सबै भन्दा आर्कषक काष्ठकलाको रुपमा कुदिएका टुँडालमा पहिले जस्तै गरी राखिएका छैनन् । पुराना बहुमुल्य काष्ठकलाका टुँडालहरु काटिएका छन् । प्यागोडा शैलीमा निर्माण भएको मन्दिरका पित्तलको छाना छोटो बनाईएको छ । बहुमुल्य काष्ठकलाको रुपमा रहेका टँुडालहरुका देवी देवताको कुनै भागमा एउटा हात कुुनै भागमा चार वटा हात छन्,त कुनैमा दुई÷ तिन वटा हात रहेका छन् । कतै टुँडालको देवी देवताको आकृतिमा र रोगन गरिएको छ, त कतै टुँटे फुटेका टुँडाल राखिएका छन् । कतै फुटेका ईटा राखिएका छन् भने, कतै सालका काठ प्रयोग गर्नुपर्नेमा अन्य काठहरु राखिएका छन् ।

मन्दिरमा रहेका बुहुमुल्य झ्यालहरु अस्तव्यस्त पारिएको छ । पुरातात्विक विभागको नीति अनुुसार पुर्ननिर्माण, जीर्णाेद्धार स्थलमा सुर्कीको प्रयोग गर्नुपर्नेमा सिमेन्टको प्रयोग गरिएको छ । यसरी सार्वजनिक, धार्मिक, पुरातात्विक, पर्यटकीय महत्वको संरचना लापरवाही तरीकारले निर्माण हँुदा समेत प्रमुख सरोकारवाला निकाय तानसेन नगर सरकार भने मौन छ । न मन्दिर व्यवस्थापन समिति नै सक्रिय छ । समिति लामो समयदेखि नै निष्क्रिय बनेको छ । यस्तो हुँदा समेत समिति रमिते बनेको छ । मन्दिरका पुजारीले ७ महिना हुँदासम्म तलव पाएका छैनन् । मन्दिरका विषयमा विगतदेखि सरोकार राख्दै आएको नारायण युवा क्लव र वडा नंं २ को कार्यालयले समेत मन्दिर जीर्णाेद्धारको काममा चासो दिएका छैनन् । जीर्णेद्धारमा भएको बेथिती, अनियमिता बारे कसैले पनि आवाज गठाएका छैन् । तै चुप मै चुप अवस्थामा सरोकारवालाहरु रहँदा मन्दिर मौलिकता गुमाउँदै गएको प्रति मन्दिरका पुजारीदेखी सर्वसाधारणहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । मन्दिरका पुजारी फरिन्द्र लम्सालले पुरानो अवस्थाको मन्दिरको संरचना नरहेकोमा चिन्ता व्यक्त गरे । ‘मन्दिर जीर्णाेद्धारमा धेरै लापरवाही भएको छ तर सरकोरवाल निकाय आँखा चिम्लिेका छन् यो भन्दा दुःखको कुरा के हुन सक्छ ?’ उनले भने । मनमा पिडा दवाएर कति दिन बस्ने पुजारी लम्सालले गुनासो गरे । पुरातत्वको भावना विपरित मन्दिरको जीर्णाेद्धार गरिएको छ । करोडौ रुपैयाँमा पनि किन्न नसकिने बुहमुल्य काष्ठकला गायव पारिएको छ । पुर्नसंरचना गरिएको मन्दिरका काष्ठकला हेर्दा प्रकृतिको नियम विपरित राखिएका छन् । यस्तो लापरवाही हुँदा समेत तानसेन नगरपालिका पदाधिकारीहरु आखा चिम्लिनु निकै दुःखद भएको तानसेनका संस्कृतिकर्मी राजेन्द्र गोपाल सिंहले बताए । नयाँ काठहरु प्रयोग गर्नुपर्नेमा कुहिएका काठहरु प्रयोग गरिएका छन्, मन्दिर भित्रै बलेनी पर्ने गरी तल्लो छानो निर्माण भएको छ । टुँडालहरु काटिएका छन्, बहुमुल्य काष्ठकलाहरुको सदुपयोग भएको छैन्, सरोकारवाल निकायबाट अनुगमन नहुँदा निर्माण व्यवसायीले मनोमानी रुपमा काम गरेको मन्दिरका पुजारी फरिन्द्रराज लम्सालले गुनासो गरे ।

मन्दिरको छाना छाईसकेको छ । पित्तलको छाना राखिएको छ । मन्दिरका सबै टुँडालहरु राखिएका छन् । भत्किएको मन्दिर ठडिने काम मात्र भएको छ तर मौलिकता हराएको छ । बहुमुल्य काष्ठकला विगारिएको छ । पित्तलको छाना बाक्लो, पातलो छाईएको छ । मन्दिरको स्वरुप नै विगारेर बनाउँदा समेत नगरपालिका, वडा कार्यालयले चासो नदिएको तानसेन भजन संरक्षण समितिका उपाध्यक्ष चित्रवलीराम सुवालले बताए । बाहिरबाट हेर्दा राम्रो देखिएपनि भित्री रुपमा हेर्दा मन्दिरको स्वरुप नै विगारी जीर्णाेद्धार गरिएको छ । ‘पहिले पनि मन्दिर फुलबारीलाई धार्मिक पार्कको रुपमा विकास गर्ने भनेर करोडौं तानसेन नगरपालिकाले सक्यो अहिले फुलबारी कुरुप अवस्थामा पुगेको छ, अहिले जीर्णाेद्धार भईरहेको मन्दिर पनि राम्रोसँग काम हुन सकेन’ नागरिक अगुवा सूर्य बहादुर बोहोरा भन्छन् । तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले व्यस्तताको कारण नियमित रुपमा मन्दिर जीर्णाेद्धार हेर्न नपाएको तर गलत तरिकाबाट काम भएको भए पुनः सुधार गरेर पुरानै अवस्थामा फर्काउने बताए । तानसेन नगरपालिकाका ईन्जिनियर शिव शर्माले मन्दिर पुनःनिर्माणको नियमित रुपमा अनुगमन, निरीक्षण गर्दै आएको बताए । काममा देखिएको कमी कमजोरी पूर्ण रुपमा सुधार गरेर, पुरानो संरचना अनुसार कायम गरेर, स्थानीयवासीदेखी पुरातत्व विभागबाट समेत मुल्याङकन गरी स्टिमेट अनुसार काम गराएर मात्र निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी गरिने उनले बताए । सर्वसाधारणले चासो निगरानी राख्नु राम्रो कुरा भएको ईन्जिनियर शर्माको भनाई छ ।

मन्दिरको छाना भत्किनुमा सर्वसाधारणहरुले तानसेन नगरपालिकाको लापरवाही भएको दावी गर्दै आएका छन् । २०७० सालमा मन्दिरको गजुरमा सुन लेपन गर्दा राम्रोसँग खट नवधी लापरवाही तरकारीले खट बाधेपछि मन्दिरमा पानी चुहिन थालेको स्थानीयको भनाई छ । मन्दिरमा छानो अड्याउने टुँडालहरु कुहिएर छानो भत्किएको सर्वसाधारणको गुनासो छ । सबैभन्दा महत्वपूूर्ण पाटो मन्दिरको टुँडालमा रहेका बहुमुल्य काष्टकला देखिन्छ । एक सय भन्दा टुँडालहरुमा विभिन्न देवी देवताका आकृतिहरु कुदिएका छन् टुँडालकै तल मानिसको जीवन चक्र सञ्चालन गर्ने महिला पुरुष बिचका यौनजन्य गतिविधी कुदिएका छन् । मन्दिरको आडैमा पौवामा रहेका बहुमुल्य काष्ठकला सरसफाईदेखी हेरचाह नगर्दा कुहिदै गएका छन् । नारायणस्थानकै शिवालयमा कुदिएका बहुमुल्य काष्टठकला पनि कुरुप बनेका छन्, बहुमुल्य काष्ठकलाको नियमित रेखदेख सरसफाईमा समेत नगर सरकारको ध्यान पुगेको छैन् । तानसेन नगरलाई ऐतिहासिक, पुरातात्विक शहरको रुपमा नाराबाट चिनाउन खोजे पनि आँखा अगाडि लापरवाही तरीकाले मन्दिरको जीर्णाेद्धार हुनु जनप्रतिनिधीहरुका लागि लाजमर्दाे विषय बनेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update