Shittalpati
राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जनाले मतदान गर्ने

पाल्पा, राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचनका लागि ८ सय ८४ जनाले मतदान गर्न पाउने भए पनि निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८ सय ८१ जनाको नाम रहेको छ । प्रतिनिधिसभा सदस्य २ सय ७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५ सय ५० गरी राष्ट्रपति निर्वाचनमा ८ सय ८४ जनाले मतदान गर्न पाउने भए पनि यस पटकको निर्वाचनमा तीन जना मतदाता कम हुनुसक्ने निर्वाचन आयोगले जनाएको छ ।

यसबारे आयोगले निर्णय गरेर मात्र सार्वजनिक गर्ने जनाएको छ । प्रतिनिधिसभाका २ सय ७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन् । अर्का एक जना मतदाताको विषयमा भने आयोगले निर्णय गर्न बाँकी छ । जसको नाम आयोगले खुलाएको छैन ।

निर्वाचन आयोगले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ । आयोगले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सोमबार टुंग्याएको हो । संघीय संसद्का ३ सय ३१ जनाको मतभार २६ हजार १ सय ४९ मतभार हुन्छ । प्रदेशसभाका ५ सय ५० सदस्यको मतभार २६ हजार ४ सय रहेको छ । आयोगले टुंग्याएको अन्तिम मतदाता नामावली निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गर्नेछ । राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्ममा मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसमा फागुन ११ सम्म दाबी विरोधको उजुरी दिन सकिनेछ । दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ । उजुरी माथिको छानबिन गरी फागुन १२ मा अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन कार्यक्रम छ । १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । निर्वाचन २५ गते बिहान १० देखि अपराÞन ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update