Shittalpati
सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

पाल्पा, सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा दैनिक ८ घण्टा सिद्धार्थ राजमार्ग बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले वैकल्पिक सडकको व्यवस्थापन गरी दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजे सम्म सडक बन्द गरी काम गर्न दिने निर्णय भएको प्रमुख पाल्पाका जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

समितिको बैठकले सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको कामका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न दिइने निर्णय गरेको हो ।

सडक बन्द रहेको समयमा आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना/मझौला सवारी साधनका लागि दोभान– नुवाकोट खण्डको भित्री सडक प्रयोग गर्न सकिने छ । जसका लागि बैंठकले निर्माण व्यवसायीलाई उक्त सडकको आवश्यक मर्मत गर्न निर्देशन दिएको छ ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले तत्काल स्तरउन्नती गर्ने सहमति भएको छ । कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँमा सुरुङमार्गको ठेक्का लिएर पूर्वतयारीको काम गरिरहेको छ । सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म १ हजार १ सय २६ मिटर दुरी रहेको सुरुङको पूर्वतयारीको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजनाका प्रमुख होमबहादुर एसीले बताए । सुरुङमार्ग निर्माण कम्पनीले सम्झौताअनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ । ठेक्का सम्झौता गरेको नौ महिनापछि कम्पनीले विस्तृत डिजाइन सडक विभागलाई बुझाएको हो ।

साइट क्याम्प बनाउने, वाल लगाउने, साइट क्लियरेन्स गर्ने, डाइभर्सन सडक बनाउने, गुणस्तर मापनको ल्याब इन्सटल गर्ने, क्रसर प्लान्ट बनाउनेलगायतका पूर्वतयारीको काम अघि बढिसकेको छ । अब वाटरट्यांक बनाउने, हेलिप्याड बनाउनेलगायतका काम बाँकी छन्  । त्यो अवस्थामा अबको डेढ महिनामा आयोजनाको निर्माण औपचारिक रूपमा सुरु गर्न सकिने आयोजना प्रमुख एसीले बताए । निर्माण कम्पनीसँग पाँच वर्ष अवधिका लागि ठेक्का सम्झौता गरेकोमा त्यसमा नौ महिना आयोजनाको डिजाइनमै सकिएको छ । अब बाँकी रहेको चार वर्ष तीन महिनामा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने छ । ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्नेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update