Shittalpati
ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु

पाल्पा, स्याङजाको वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्रि सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ । जगत भङज्याङबाट मिर्दीतर्फ ढुङगा लिएर आउँदै गरेको ग. १ त. ६८८६ नं.को ट्याक्टर आइतबार राती आफै अनियन्त्रित भई दुर्घटना हुुँदा चालक र सह–चालकको मृत्युु भएको हो ।

मृत्यु हुनेमा चालक स्याङ्जाको चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षीय नवीन सुनार र सह–चालक वालिङ नगरपालिका–८ मिर्दीका १४ वर्षिय सोबिन विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । खनालका अनुसार दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

 

ट्याक्टर सडकदेखि १५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते नवीनको टाउको र ढाडमा चोट लागेको थियो भने सोबिनको टाउको र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । दुवै जनालाई प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार गरिएको थियो । उपचारको क्रममा चालक सुनारलाई प्रथामिक स्वास्थ्य केन्द्र वालिङका डाक्टरले मृत घोषणा गरेका थिए । सह–चालक विकलाई भने सामान्य उपचारपछि थप उपचारको लागि राति नै पोखरास्थित गण्डकी मेडिकल कलेज रिफर गरिएकोमा उपचारको क्रममा उनलाई पनि राति नै मृत घोषण गरिएको स्याङ्जाका डीएसपी खनालले बताए । सुनारको शव वालिङ स्वास्थ्यचौकी र विकको शवलाई गण्डकी मेडिकल कलेजमा नै राखिएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update