Shittalpati
पोखरा विमान दुर्घटना : ६९ जनाको शव भेटियो

पोखरा, पोखरामा आइतबार भएको यती एयर लाइन्सको विमान दुर्घटनामा परी मृत्युु हुने ६९ जनाको शव भेटिएको छ । यो समाचार तयार पार्दासम्म ६९ जनाको शव फेला परेको हो । ७२ जना सवार रहेकोमा ३ जनाको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी कार्य जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती खोंचमा खोजी कार्य जारी राखेको छ ।

मृतक अवस्थामा भेटिएका मध्ये ४४ जनाको शव पहिचान भएको छ । अन्यको भने हुुन सकेको छैन् । विदेशी र पहिचान नभएका शव मंगलबार मात्रै काठमाडौं पठाइने भएको छ । यसअघि हेलिकप्टरमा सोमबार नै शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने तयारी भए पनि अबेर भएकाले मंगलबार मात्र पठाइने भएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उद्धार तथा समन्वय केन्द्रका अनुसार ४६ जनाको शव काठमाडौं पठाइने भएको छ । त्यस्तै २३ जनाको शव भने पोखरामै अभिभावकलाई बुझाउने तयारी छ । पोखरामा मृतकका आफन्तलाई शव बुझाउन सुरु गरिएको छ ।

विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेका थिए । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना र ६८ यात्रु सहित ७२ जना सवार रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । ६८ यात्रुमध्ये ३÷३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका थिए । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा विमान दुर्घटना भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update