Shittalpati
कोरोनाको कहर पशुपालक कृषक मारमा

रासस
तानसेन, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले लागु गरेको लकडाउनका कारण पशुपालक कृषक मारमा परेका छन् । लकडाउनका कारण जिल्लामा उत्पादन हुने दूग्धजन्य पदार्थ विक्री भएको छैन, भने पशुलाई खुवाउने दाना आयातमा समस्या भएको छ । पाल्पामा व्यवसायिक रुपमा पशुपालेका कृषकले दुहेको दूध पशुलाई नै खुवाउन बाध्य भएका छन् । रामपुर नगरपालिका—८ मा नागिनी एग्रो एण्ड रिसर्च सेन्टर सञ्चालक नरनारायण अर्यालले भैंसी दुहेर दूध भैंसीलाई नै खुवाउन बाध्य भएको गुनासो गरे । करिव १० महिनाअघि व्यवसाय थालेका अर्यालको रिसर्च सेन्टरमा अहिले ५९ वटा भैंसी रहेका छन् ।

यसअघि दैनिक २ सय ४० लिटरसम्म दुध विक्री गरेका अर्यालले अहिले दाना अभावमा दैनिक एक सय ९० लिटर दूध उत्पादन भएपनि विक्री गर्न समस्या रहेको बताए । एक करोड ४० लाख मूल्य बराबरको आम्दानी गरेर भैंसी पालेका अर्यालले सञ्चालन गरेको डेरी समेत दिनभरी खोल्न नपाउँदा दूध विक्रीका लागि समस्या परेको गुनासो गर्छन् । रामपुर नगरपालिका—५ का जिवनाथ ढुङ्गनाको उन्नत गाई फर्ममा ठूला साना गरी १० वटा गाई छन् । गाउँका अन्य कृषकबाट समेत दैनिक ५ सय लिटर दूध संकलन गरेर आफ्नै डेरीबाट विक्री गरेपनि अहिले रोकिएको उनको भनाई छ । यसअघि नै दानाको जोहो गरिसकेकाले दानाभन्दा चोक्कर र बरानको अभाव भएको अर्यालले बताए ।

जिल्लाको तिनाउ गाउँपालिका डुम्रेमा रहेको सहकारीमा आवद्ध कृषकलाई पनि दाना अभावका कारण समस्या भएको छ । डुम्रे दूग्ध उत्पादन सहकारी संस्था लिमिटेडका व्यवस्थापक तथा गाईपालक कृषक गोपाल जिसीले दाना अभाव भएर दूध उत्पादन घटेको तर विक्रीका लागि भने समस्या नभएको बताए । २६ वटा गाई पालेका कृषक जिसीले सहकारीमार्फत जम्मा भएका दूध पोखरा पुर्‍याउने व्यवस्था मिलाएको जानकारी दिए । सहकारीमा आवद्ध ५ सय सदस्यमध्ये धेरै पशुपालनमा आवद्ध छन् । यस बाहेक निजी ढङ्गले पशु पाल्नेलाई दाना पाउनै गाह्रो छ । २०६८ सालमा फर्म दर्ता गरेर सञ्चालनमा ल्याएको सहकारीले जिल्ला तथा जिल्ला बाहिरसमेत दूध विक्री गर्दै आएको छ । जिल्ला भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डाक्टर चन्द्रबहादुर रानाले जिल्लामा ३ सयको हाराहारीमा दूग्धजन्य पशुपालक कृषक रहेको बताउँदै यसअघि ८ हजार लिटर दुध उत्पादन हुने बताए ।

उनका अनुसार अहिले केही सहकारी मार्फत पशुपालक कृषकले कास्कीको पोखरामा दुध पठाउने गरेका छन् । दैनिक रुपमा करिव २९ सय लिटरसम्म दुध पोखरा जाने गरेकोमा अहिले दाना र सुख्खा घाँसको अभावमा उत्पादन घटेको छ । ‘अहिले जिल्लामा जम्मा ६ हजार लिटरको हाराहारीमा दूध उत्पादन हुन्छ, उत्पादन भएको दूध विक्रीका लागि बजार नखुलेपछि कृषक मारमा परेका छन्’, केन्द्रका प्रमुख डाक्टर रानाले भने ।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update