Shittalpati
श्री स्वस्थानी ब्रतकथा

मदन देउराली
आज पौष शुक्ल पूर्णिमा हो । यस दिनदेखि हिन्दूहरुको घर–घरमा श्री स्वस्थानी ब्रतकथा पढिन्छ र सुनिन्छ । महिला, पुरुष भक्तजनहरु अगेनामा आगो ताप्दै कथा सुन्ने गरिन्छ । शंखरापुर नगरपालिका स्थित शालीनदीको तिरमा रहेको सत्तल, काठमांडौको उत्तरपट्टी रहेको पुरानो बस्ती साँखु लगायतका ठाउँहरुमा भक्तजनहरुले नुुहाउने गर्दछन् । एक महिनासम्म हुने कथा हो श्री स्वस्थानी ब्रत कथा । जसमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा एक महिनासम्म विहान सबेरै उठी शालि नदीमा नुहाई एक छाक मात्र शुद्ध खाना खाई श्री स्वस्थानी माताको पूजा आराधना गर्ने र साँझ कथा सुन्ने गर्दछन् । एक महिना पछि कथाको सांगे गर्न भनि विभिन्न सामग्रीहरु जुटाई श्री स्वस्थानी माताको पूजा आराधना गर्दछन् ।

साँखु शालिनदीको किनारमा मात्र नभई प्रायजसो हिन्दू धर्मावलम्वीहरुको घर–घरमा पनि साँझपख श्री स्वस्थानी माताको कथा भट्याएको सुनिन्छ । स्वस्थानी ब्रत कथा हिन्दु धर्ममा आधारित एक पौराणिक ग्रन्थ हो । जुन महिनाभरि प्रत्येक दिन पढिन्छ, सुनिन्छ । स्कन्दपुराण अनुसार यो कथा महादेव, पार्वती र विष्णुको वरीपरि घुमिरहेको कथा हो । हिमालय पुत्री पार्वतीले महादेव पति पाउन विष्णुले दिएको सल्लाह अनुसार एक महिनासम्म श्री स्वस्थानी माताको व्रत बसेको र त्यही व्रतको प्रभावले महादेवलाई पतिका रुपमा प्राप्त गरेको उल्लेख गरिएको छ । पछि पार्वतीले यस कथालाई यसरी दुःख पीर मर्कामा परेकाहरुको उद्धारका लागि गर्न लगाएको व्रतकथा हो । ३१ अध्याय भएको यस कथामा विभिन्न देवी देवताहरुको पनि वर्णन गरिएका छन् । यस कथामा भगवान महादेव, पार्वती, विष्णु, मात्र नभइ ब्रह्मा, इन्द्र, सतिदेवी, कुमार कार्तिकेय, गणेश, त्यस्तै गरी दक्ष प्रजापति, तारकासुर, मधुकैटभ, जालन्धर, वृन्दा, रावण, शिवभक्त ब्राम्हण, गोमा ब्राह्मणी, नवराज, चन्द्रावती आदि का बारेमा वर्णन गरिएका छन् । यो कथाको धेरैजसो ठाउँहरु नेपालमा भएको लेखिएका छन् । जस्तै श्लेशमान्तक बन, पाशुपत क्षेत्र, बाग्मती नदी, गौरीघाट, मृथस्थली, किरातेश्वर, गुÞयश्वरी, शालीनदी, गोकर्ण, विभिन्न शक्तिपीठहरु आदि त्यसैले यी तिर्थस्थलहरुमा यो महिनामा भक्तजनहरुको घुँइचो लाग्दछ ।

स्वस्थानी ब्रत कथा अत्यन्त लोकप्रिय धार्मिक कथा हो । स्वस्थानी माताले आफनो सबै इच्छा पूरा गरी दिन्छन् भन्ने विश्वासका साथ यो एक महिना प्रत्येक दिन पाठ गरिन्छ । महिलाहरु आफ्नो पतिको सुस्वास्थ्य तथा दीर्घायूको कामना गर्छन् भने अविवाहित नारीहरु योग्य पर पाउनको लागि व्रत बस्छन् भनिन्छ । यस अवधिमा महिलाहरु रातो साडी तथा चुरा लगाउँछन् । खास आधिकारिक प्रमाण केही नभएता पनि नेपाल सम्बत ६९३ अर्थात् सन १५७३ तिर काठमाडांै उपत्यकामा नेवार राजाहरुको पालामा जयन्त देवले नेपाल भाषामा श्री स्वस्थानीको व्रत कथा लेखेका थिए भनिन्छ । स्वस्थानी ब्रत लिएका भक्तजनहरुले महिनाभरि नै केवल एक छाक मात्र शुद्ध भोजन गर्ने र कथा पढनु, सुन्नु, सुनाउने गरिन्छ । कथा वाचन कसै कसैले विहान गर्ने गर्दछन् भने धेरै जसोले साँझ नै गर्दछन् । अध्याय पाठ गर्नु अगाडि धूप बत्ति, नैबेद्य आदि जम्मा गरी कथा शुरु गर्दछन् । कथामा अगस्त्य मुनिले स्कन्द कुमारसँग पृथ्वी उत्पत्तिको बारेमा तथा त्यसपछि घटेका विभिन्न घटनाहरु बारे आफ्नो जिज्ञासा राख्दछन् सोही अनुसार कुमारले पनि कथा विस्तृतरुपमा वर्णन गर्दछन् । शुरुमा “कुमारजी आज्ञा गर्नु हुन्छ हे अगस्त्य मुनि तिमी एक चित्त भई सुन” बाट कथा प्रारम्भ हुन्छ । यसरी प्रारम्भ भएको स्वस्थानी ब्रतकथा माघ शुक्ल पूर्णिमाको दिन समापन गरिन्छ । यस दिन घरघरमा पूजाको तयारी हुन्छ । कसैले पण्डित बोलाई यो सांगे कार्य गर्ने गर्दछन् भने कसैले आफैले पूजा गर्ने गर्दछन् । यस दिनको लागि आवश्यक सबै पूजा सामग्रीहरु १०८ वटाको हिसाबले जम्मा गरिन्छ ।

पूजामा फलफूल नैबैद्य बाहेक एकसय आठ बेल पत्र, एकसय आठ कुडका सुपारी, १०८ पान, १०८ रोटी (जसलाई गनौटा भन्ने गरिन्छ) १०८ यञसुत्र, जौ तिल आदि राखी पूजा गरिन्छ । यसरी पूजा गरिए पछि यस बाट आठ अक्षता, आठ कुडका सुपारी, आठ पुष्प, आठ पान, तथा सगुन समेत आदि आफ्नो पतिलाई दिनु, पति नभए छोरालाई छोरा पनि नभए मित छोरालाई र यदि मीत छोरा पनि नभए आफ्नो फलानो काम पूरा होस्, मनले चिताएको पूर्ण होस भनि पवित्र नदी, तलाउ, पोखरी आदिमा बगाउनु भनिएको छ । रातभरी जाग्राम बसी भगवान शिवको आराधना गरी बसेमा आफुले चिताएको सबै पुग्दछ भनि स्वस्थानी पुस्तकमा उल्लेख गरिएको छ । यस कथामा विष्णु समुदमा शेषनागमा शयन गरिरहेको बेला विष्णुको कानेगुजीबाट निस्केको मधु र कैटभ नाम गरेका दुई दैत्य र विष्णु विच युद्व भएको तथा तिनीहरुलाई भगवान श्री विष्णुबाट बध गरेको र तिनको बध पछि तिनको बोसो जमेर पृथ्बी बनेको, हाड खोरबाट पत्थर बनेको तथा पृथ्वीको सृष्टि भए पछि ब्रÞमाले चतुदर्श भुवन सृष्टि गरेको भनेर बर्णन गरिएको छ । कथामा दक्ष प्रजापति नाम गरेका राज्यपालकका पुत्री सतीदेवसंग महादेवको विवाह भएको, दक्षले आयोजना गरेको यज्ञमा श्री महादेवलाई नबोलाए ता पनि श्री महादेवसँंग अत्यन्त कर गरी सती यज्ञमा गएको तर त्यहाँ दक्षप्रजापतिले महादेवको अत्यन्त क्षुद्र तरिकाले अपमान गरेको सहन नसकी सतीले यज्ञकुण्डमा नै हाम फालि प्राण त्याग गरेको, पछि महादेवका गणहरु आई दक्षको शिरच्छेदन गरेको कथा रहको छ ।

श्री महादेव आई सतीको मृत शरिर बोकि विभिन्न ठाउँहरुमा परिक्रमा गरेको, यसै क्रममा विष्णुद्वारा सतीको शरीर गलाई दिएको । यसरी शरीर गल्ने क्रममा सतीदेवीको अंग पतन हुँदै गएको र जहाँ जहाँ अंग पतन भएको थियो त्यहाँ पीठहरुमा शिव लिंग उत्पन्न भएको । सबभन्दा पहिला गुह्य पतन नेपालमा भएको भनिएको छ । त्यसैले त्यस ठाउँलाई अद्यापि गुह्यश्वरी भनि पूजा गर्ने गरिन्छ । सतीदेवी हिमालय पर्बत तथा उनका पत्नी मेनकाको गर्भबाट पार्वतीको रुपमा पुनः जन्म भएको । साथै महादेव पति पाउनलाई गरेको तपस्या स्वस्थानी ब्रत लिएको चर्चा आदि बारे बर्णन गरिएको छ । महादेव पार्वतीको विवाह भैसके पछि गणेश र कुमार को जन्म भएको । कुमार द्वारा तारकासुर नामक दैत्यको अन्त भएको । महादेव र जालन्धरको युद्व भएको । विष्णुले छल गरी जालन्धर पत्नि बृन्दाको पतिब्रता धर्म हरण गरे पछि जालन्धरको मृत्यु भएको, पतिब्रता बृन्दाको श्रापले विष्णु भगवान तुलसी, कुश, पीपलको रुख र शालिग्राम हुनु परेको कथा रहेका छन् । देवताका राजा इन्द्र दैत्यहरुसँग आक्रमण गरी विजय प्राप्त गर्न नसेकी पछि आफ्नो राज्य अमरावती छोडि भागि गएको । दैत्यले अमरावती आफ्नो अधिनमा राखेको । महादेव किरातीको रुप धारण गरी श्लेस्मान्तक बन विहार गरेको, मृग भई अन्य हरिणहरुसँग बनमा गएको । ब्रÞमा, विष्णु तथा इन्द्रद्धारा समात्न खोज्दा सिंग भाँचिएको तथा त्यस ठाउँमा गोकर्णेश्वर शिव लिंग भई रहेको र त्यस ठाउँलाई गोकर्ण भनिएको भन्ने पनि उल्लेख गरिएकोछ ।

यस्तै गरी कथामा सिद्धि विनाएक श्री गणेशको कृपाले शिवभट्ट ब्रामहण र सती ब्राÞमणी धनी भएको तथा गोमा नामकी छोरी प्राप्त गरेको । तिनीहरुको दान पूजा आदिले अमरावती डगमगाएको इन्द्रादी देवी देवताहरु डराई महादेवको शरणमा गएको चर्चा पनि छ । श्री महादेव भिक्षुक भई गोमा संग भिक्षा माग्न गएको तर आफुले मागेको नदिएको भनि श्राप दिएको । सत्तरी वर्षे शिव शर्मासंग सात वर्षकी गोमा विवाह भएको श्री गणेशको कृपाले प्राप्त गरेको शिवभक्त ब्राÞमण र सती ब्राÞमणीको धनसम्पति नाश भएको तथा शिवशर्माको मृत्यु पछि गोमाले दुख भोगेको । गोमाबाट छोरा नवराजको जन्म भएको । धन सम्पतिको लागि नवराज पनि परदेश लागेको र आफनो छोरा चाँडै फर्कोस भनि श्री स्वस्थानीको ब्रत गरेको, नदीमा चढाएको रोटी नाग नागिनीले पाई उनीहरुको पनि धेरै वर्ष पछि मिलन भएको, नवराज परदेशबाट फर्केको, फर्के पछि लावण्य देशको राजा भएको बर्णन छ । नवराजकी पत्नी चन्द्रावतीले स्वस्थानी माताको अपमान गरेकीले शालीनदीमा वर्षौ सम्म मुढा भई बस्नु परेको पछि स्वस्थानी माताको ब्रतको प्रभावले पुन आफ्नो रुपमा आएको । यसरी ३१ अध्याय भएको स्वस्थानी कथा कसैले दिनमा एक अध्याय मात्र गरेर महिना दिन सम्म पढछन् भने कसै कसैले दोहराई तेहराई पढदछन् ।

स्वस्थानी ब्रत कथामा राम्रा पक्षहरु पनि छन भने केही नराम्रा पक्षहरु पनि छन भन्दा अत्यक्ति नहोला । कतिपय कुरा आजको परिप्रेक्ष्यमा अलि नपच्ने जस्तो पनि देखिन्छ । कथामा मानिसहरुमा भगवान प्रतिको विश्वास, धर्म प्रतिको आस्था जगाउँदछ । तर दक्ष प्रजापतिको अहम, महादेव प्रतिको उनको अपमान जनक बचन, देवताका राजा इन्द्र दैत्यहरुसँग डराएर भाग्नु, विष्णुले पतिब्रता स्त्रीको सतित्व हरण गर्नु, इन्द्रको आसन डगमगायोे भनेर महादेवले गोमा नामकी सानी बच्चीलाई श्राप दिनु, ७ बर्षकी सानो बच्ची संग ७० बर्षको बृद्धसंग विवाह गर्नु आदि अलि समाजले नपचाउने खालका चर्चा पनि गरिएको छ । ज्यादा ढिपी गर्दा नराम्रो परिणाम आउँछ भन्ने पनि यसमा उल्लेख गरिएको छ भने निम्तो दिइएको ठाउँमा मात्र जानु पर्छ नत्र जानु हुन्न भन्ने पनि सन्देश दिएको छ । त्यस्तै गरी हतारमा वा आवेशमा वा क्रोधमा गरेका काम कति कष्टदायक हुन्छ भन्ने पनि यसमा चर्चा गरिएको छ । यसरी कथामा माता स्वस्थानी प्रति बढी आस्था जागोस् भनेर रोचक ढंगले कथा प्रस्तुत गरेको छ । शायद त्यसैले होला एक महिनासम्म कति दुख नमानि ब्रत बस्ने, कथा भन्ने, सुनाउने, सुन्ने गरिन्छ । अस्तु ।
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update