Shittalpati
गुल्मीमा ७ हजार ९ सय सवारी कारवाहीमा

हाम्रा संवाददाता

गुल्मी,  गुल्मीमा एक बर्षमा ट्राफिक नियम उल्लघन गर्ने सात हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ट्राफिक नियम उल्लङघन गर्ने ७ हजार ९ सय ३९ सवारी साधनलाई कारवाही गरेको छ । ट्राफिक नियम विपरित सञ्चालन गरिएका ती सवारी कारवाहीबाट ५१ लाख २३ हजार राजस्व सकलन भएको छ ।

संकलित जरीवाना र कारवाहीमा पर्ने सवारी साधनको संख्याले ट्राफिक प्रहरीको सक्रियता देखाएपनि सडक दुर्घटनामा भने कमी आएको छैन । जिल्लामा अघिल्ला बर्षमा भन्दा यसपाली दुर्घटना बढेका छन् । प्रहरीले भने राजस्व असुलीमा भन्दा दुर्घटनामा न्युनिकरण र ट्राफिक नियमको पालनामा जोड दिएर कारबाही गरिएको दावी गरेको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने जीप/कार २ हजार ८ सय २४ वटा, मोटरसाइकल २ हजार ६ सय ५१ वटा, ट्याक्टर ५ सय ५ वटा, बस २ सय ६५ वटा र ट्रक ६ सय ७० वटालाई कारवाही गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयले यस आर्थिक वर्षमा सवारी साधन कारवाही र राजस्व संकलनमा वृद्धि गरेको कार्यालयका हवल्दार नविन भण्डारीले बताए । अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा २० लाख बढी राजस्व संकलन भएको भण्डारीको भनाइ छ । अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ३१ लाख ८९ हजार राजस्व संकलन भएको थियो । सो आर्थिक वर्षमा ५ हजार ८७ वटा सवारी साधन माथि कारवाही गरिएको थियो । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सरोकारवाला निकायसँगको सहकार्यमा नियमित रुपमा सचेतनामूलक कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेले बताए ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update