Shittalpati
लकडाउनका कारण रोकिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालन

रामपुर । बन्दाबन्दीका कारण रोकिएको कयन–रानीबास, रानीबास—कोटथर खानेपानी आयोजना पुनः सञ्चाल भएको छ । कोभिड—१९ को जोखिम संक्रमणबाट बच्न गरिएको बन्दाबन्दीले पाल्पाको रम्भा गाउँपालिका –२ मा सञ्चालित उक्त आयोजनाको काम रोकिएको थियो । बन्दाबन्दीपछि पाइप बिच्छ्याउने, पुर्ने, ट्याङ्की निर्माण गर्ने, वितरण प्रणालीको पाइप खन्ने जस्ता काम अवरुद्ध थियो । स्थानीय कामदार व्यवस्थापन गरी बन्दाबन्दीको पालना गर्दै पानी संकलनका लागि ट्याङ्की निर्माणको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र पाँडे मगरले बताए । गाउँका सबै घर–घरमा खानेपानीको पहुँच पुर्‍याउन ‘एक घर एक धारा’ अभियान कार्यक्रम अन्र्तगत आयोजनाका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले नौ लाख विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

आयोजना सम्पन्न गर्न स्थानीय उपभोक्ताबाट चार लाख संकलन भएको छ । सो आयोजनाबाट कोटथर गाउँसहित वडा कार्यालय गरी ५९ घरधुरीका करीब पाँच सय बासिन्दा लाभान्वित हुने छन् । माथिल्लो भेगमा मानिसको बसोबास रहेको हुदाँ बस्तीदेखि तलबाट लिफ्ट गरेर गाउँमा पानी लगिने भएको छ । खानेपानीको अभाव झेल्दै आएका यहाँका बासिन्दालाई २० हजार लिटर क्षमताको ट्याङ्की निर्माण भई घर–घरमा पानी पुगेपछि धेरै सुविधा पुग्नेछ । आयोजना सञ्चालनका लागि वडा कार्यालयबाट आवश्यक सहयोग समन्वय गरिएको र छिट्टै सम्पन्न गरी घर–घरमा पानी लैजाने वडाध्यक्ष उमानसिंह सारुले बताए । आयोजनाबाट ७२ मिटर उचाई र ७ सय ७० मिटर टाढा रहेको कोटथरको भूयारथानसम्म पानी लगिने छ । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update