Shittalpati
पाल्पाली साहित्यकार रेग्मीका काठमाडौंमा दुई कृति विमोचन

पाल्पा, पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीका दुई वटा कृति काठमाडौंमा विमोचन भएका छन् । आधुनिक साहित्य परिषद काठमाडौंले चौथो बार्षिक दिवस समारोह तथा साहित्यिक महोत्सवको अवसरमा रेग्मीका ऐतिहासिक बालकथा संग्रह अपूर्व दर्शन र बाल सुसेली संग्रह अचार विमोचन गरेको हो ।

डेढ दर्जन कृतिहरू प्रकाशित गरिसकेका रेग्मीको हालसम्म ५ वटा बाल साहित्यका कृतिहरू प्रकाशित भएका छन् । विमोचित कृति बाल सुसेली अचार भित्र आमा, बाबा, गुरु, स्कुल, फुटवल, भक्तिगान, गीत, कोरोना, साहित्य, सुसेली शीर्षकका सुसेलीहरू रहेका छन् भने ऐतिहासिक बाल कथा संग्रह अपूर्व दर्शनभित्र ८ वटा शीर्षकमा बाल कथाहरू संग्रहित छन् । रूरू कन्याको कथा, रम्भा पानीको कथा, सत्यवती बज्यैको कथा, वाक्खै ह्वा वाक्खैको कथा, भैरवनाथको कथा, जात्रै जात्राको शहरको कथा, उजिरसिंहको कथा र रानीमहलको कथालाई बाल कथाको माध्यमद्वारा प्रस्तुत गरिएको छ । बाल साहित्य विकास मञ्चद्वारा प्रकाशित, गौरी पव्लिक रिलेसन एण्ड पव्लिकेन काठमाडौंद्वारा वितरित दुवै कृतिहरू बालबालिकाहरूका लागि अत्यन्त उपयोगी र संग्रहणीय रहेका छन् ।

तीन दिनसम्म सञ्चालन भएको साहित्यिक महोत्सवमा विभिन्न सर्जकहरूद्वारा लिखित विभिन्न विधाका ३१ वटा पुस्तकहरू समेत विमोचन गरिएको थियो । परिषदका अध्यक्ष मुरली प्रसाद ढकालको अध्यक्षता र प्रमुख अतिथि डा. शैलेन्दु प्रकाश नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update