Shittalpati
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–८’)

शालिकराम पाण्डे ‘शिला’
१९ चैत्र २०७६(बुधबार)
बिहान नित्य कर्म सकेपछि मन गहिरेको मनका कथाहरु समाएर पढें । संग्रहका सबै कथाहरु पढेर सकियो । सामान्य नोट पनि गरेको छु । पुस्तकका विषयमा केही लेखौं कि झैं लागेको छ । त्यसो त म समालोचक होइन । म पनि कथा लेख्छु । तर कथाका सैद्धान्तिक विषयहरुमा कम ज्ञान छ । त्यसैले कसरी लेखौं भएको छ । सामान्य अनुभवहरु लेख्न पर्ला ।

कोरोना बिरुद्ध नेपालमा संक्रमित ब्यक्तिहरुको जाँच सेवा अत्यन्त न्यून भईरहेकोमा अब देखि सबै प्रदेशस्तरमा पनि हुनेभएकोले गति लिन्छ कि भन्ने लागेको छ । सरकारबाट निरन्तर अपडेट भईरहेको छ । अहिलेसम्म नौं सय भन्दा बढीको जाँचमा चार जना मात्र संक्रमित भेटिएको र एक जना सन्चो भएर फर्केको समाचारले केही राहत अनुभव भएको छ । क्वारेन्टाइन बसाईलाई पनि कडा पारिएको छ । पाल्पामा पनि स्थानीय तहहरु आलोचनाबाट सिक्दै र सतर्क हँुदै तयारीका साथ अगाडि बढेको देखिएको छ । केही मान्छेहरु भारतको बोर्डरमा रोकिएको विषयमा सामान्य विवादहरु भएको छ । सरकारले यो आपतकालीन महामारीको अवस्थामा जो जहाँ छन् त्यही बस्न पर्ने भनिरहेको छ भने केी मानवअधिकारकर्मीहरुले उनीहरु स्वदेश आउन पाउनु पर्ने र उनीहरुको जाँच, निगरानी तथा उपचार सरकारले गर्नुपर्ने बताइरहेका छन् । ओशोको क्रान्तिबीजका केही प्रेरक प्रसंगहरु पनि कम्प्युटरमा नोट गरें । ओशोका विचारहरु महत्वपूर्ण छन् तर कम ब्यवहारिक हो कि भन्ने लाग्छ । सारा जीवन र जीवनका सबै गतिहरुलाई उनले फरक ढंगले हेर्ने र विश्लेषण गर्ने प्रयास गरेका छन् । क्रान्तिबीज पनि त्यसकै सेरोफेरोमा छ । ज्ञान प्रायोजित हुन्छ भने अनुभव प्राकृतिक हुन्छ भन्छन् उनी । ध्यान सबै कुरालाई बिर्सेको अवस्था हो ।
आज २.०० बजेदेखि बोर्ड बैठक प्रारम्भ भयो । तर कम तयारी भएकोले धेरै साथीहरु सहभागी हुन सक्नुभएन । सम्भव भएका साथीहरुलाई अघिल्लो दिनमै जानकारी दिनुपर्ने त्यो पनि भएन । जेहोस् जति आउनुभयो । रमाइलो ढंगबाट छलफल भयो । लक डाउनको मौन अवधिमा मन खोलेर साथीहरुसँग बोल्न पाउनु पनि ठूलो कुरा हुनेरहेछ । भिडियो बैठकलाई मान्यता दिने, संस्थाको बैठक सञ्चालन कार्यविधि बनाउने, स्टाफहरुको अनुगमन गर्ने, कोरोना विरुद्ध सचेत रहने विषयहरुमा छलफल भए । छलफलको माइन्युट तयार गर्दा मलाई रातिको आठ बजेको थियो । कोठामा गएर मधुपर्कको केबुलकारकी केटी कथा पढें । मोहनराज शर्माको यो कथाले अनुभव लिन बाट बञ्चित एउटी केटीको बिरोधाभाषपूर्ण चरित्रलाई प्रस्तुत गरेको छ । आफूमाथि हँुदै गरेको बलात्कारलाई पनि यौन आनन्दको उत्कर्षको उत्सव बनाउने केटी यौनको अतृप्तिबाट सिर्जित घातप्रतिघात बोकेर हिँडेकी पात्रको मनोदशालाई कथाकारले राम्रोसँग उभ्याएका छन् । मोहनराज शर्मा धुरन्धर साहित्यकार हुन् ।
विशेषत : नाटक लेखनमा जमेका शर्मा कथामा पनि उत्तिकै जमेका भेटिए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको नेपाली केन्द्रिय शिक्षण विभागमा विद्यार्थी हँुदा शर्मा मेरा गुरू पनि हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update