Shittalpati
साहित्यकार पन्थको ‘समय स्फोट’ विमोचन

कृष्ण पोखरेल

पाल्पा, साहित्यकार तथा उप–प्राध्यापक टंक पन्थको ‘समय स्फोट’ कविता संग्रह विमोचन भएको छ । कविता संग्रहको नेपाल पज्ञा प्रतिष्ठान लोक तथा बाल साहित्य विभागका प्रमुख प्रा.डा. देवी नेपालले विमोचन गरेका हुन् ।

संग्रह विमोचन गर्दै प्रा.डा. नेपालले साहित्यकार पन्थको कविता संग्रह ‘समय स्फोट’ वर्तमान विषयवस्तुमा केन्द्र्रित रहेको बताए । उनले संग्रह भावना र विचारले भरिएको मानिसको मन मस्तिष्क हल्लाउने खालको रहेको धारणा व्यक्त गरे । प्रत्येक कविताका विषयवस्तु मानिसहरुले पटक–पटक पढ्ने, अरुलाई पढाउने, मानिसको परम्परागत विचार र दिमागलाई नै परिवर्तन गर्ने खालको रहेको प्रा.डा. नेपालको भनाई छ । नेपाली साहित्यमा युवाहरुको आकर्षण बढाउन, नेपाली भाषाको विकासलाई पन्थको कविता संग्रहले सहयोग पुर्‍याएको र कविता जीवन्त ताजा रहने किसिमका रहेको प्रा.डा. नेपालले बताए । मानिसले समाजको लागि जे गर्नु छ जिउदै छउञ्जेल गर्नुपर्ने काम अन्र्तगत पन्थको कविता संग्रह आएको डा.नेपालको भनाई छ । कार्यक्रममा नेपाल पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले केही कविता हलमा चर्चा हुने र पछी हराएर जाने खालका भएपनि साहित्यकार पन्थका कविता सबैले पढ्ने, सबैलाई पढाउने, पाठ्यक्रम, पुस्तकहरुमा राख्ने खालका भाव, विचार, भावना, छन्द, लय,भाषा सबै मिलेको बताए । साहित्यकार पन्थको समय स्फोट कविता संग्रहमा आफ्नो भावना भन्दा अरुको भावनालाई सम्वोधन गरेर भाव विचार, समेटेर कविता कोरिएको आफुले पाएको निर्देशक भट्टराईले भनाई छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले साहित्यकार पन्थले रचना तथा सिर्जना गरेका कविता उत्कृष्ट रहेकाले आगामी दिनमा रचनाहरु अझै उत्कृष्ट आउनेमा आफु आशावादी रहेको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार मेघराज शर्मा, साहित्यकार मन गहिरेले पन्थको कविता संग्रहले पाल्पाको साहित्यलाई उचो बनाउदै नेपाली साहित्यमा दरिलो ईट्टा थपिएको बताए । कार्यक्रममा समिक्षक साहित्यकार तथा विद्धान निलकण्ठ न्यौपानेले पन्थको कविता संग्रहमा पहिलो कविता आमा, बिच भागमा माटो र अन्तिममा बाबा कविताले भावना, विचार र देश प्रेमप्रति कविता केन्द्रित रहेको बताए । समिक्षक साहित्यकार दिन पन्थीले पन्थको कविता संग्रह नेपालीको मौलिक परम्परा, भाषा साहित्य, युवा पुस्तामा बढ्दै गएको विकृती, देश प्रेमको अवस्था, रित्तिदै गएको गाउँको अवस्था, नेपालीको मूल्य मान्यतामा केन्द्रित रहेको बताए । कार्यक्रममा आयाम कार्की, रिता न्यौपाने, तुल्सीराम पोखरेल, भावना खनाल र कमल खत्रीले समय स्फोटका कविताहरु प्रस्तुत गरेका थिए । धवल पुस्तकालय प्रकाशक रहेको समय स्फोट कविता संग्रहमा फरक–फरक विषयवस्तुका ६७ किसिमका कविताहरु रहेका छन् । कवि पन्थले २०७३ साल देखी २०७७ सालसम्म रचना गरी समय स्फोट कविता संग्रह प्रकाशन गरेका हुन । पन्थले यस अघि विशेश्वरप्रसाद कोईराला कृति र प्रवृति नामक समालोचक कृती प्रकाशन गरेका थिए । धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेलको सभापतित्वमा पुस्तकालयका कोषाध्यक्ष सन्तोष खनालको स्वागत र महासचिव राजेश कुमार अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update