Shittalpati
बगनासकालीको ८७.९ प्रतिशत वित्तीय प्रगति

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाको ८७ दशमलव ९ प्रतिशत वित्तिय प्रगति भएको छ । पालिकालाई आर्थिक २०७८/०७९ मा प्राप्त भएको ५० करोड १२ लाख २० हजार ४ सय ३७ बजेट मध्ये पूँजीगत र चालुतर्फ ८७ दशमलव ९ प्रतिशत वित्तीय प्रगति गरेको हो । पालिकाले आयोजना गरेको वार्षिक प्रगति समिक्षा कार्यक्रममा आर्थिक प्रशासन शाखा प्रमुख कोशल पौडेलले गत आर्थिक वर्षमा पूँजीगत र चालुतर्फ जम्मा ८७ दशमलव ९ प्रतिशत वित्तीय प्रगति भएको बताए । उनका अनुसार चालुतर्फ ८९ दशमलव ५४ र पूँजीगततर्फ ८१ दशमलव ९२ प्रतिशत बजेट खर्च भएको छ ।

आर्थिक सहायता रकम विश्वसनीय बनाउन नसकिएको, आवश्यक कागजात पूरा नगरी भुक्तानी माग गर्ने र बेलैमा सम्झौता गरे पनि भुक्तानीका लागि असार कुर्ने प्रचलनले वित्तीय कार्यसम्पादन प्रभावकारी बनाउन नसकिएको पौडेले बताए । गाउँपालिकाले वार्षिक शैक्षिक पाठ्यपुस्तक प्रकाशन, शैक्षिक क्यालेण्डर प्रकाशन, प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । यस्तै गरी नियमित सहकारी अनुगमन, बेरुजु फस्र्यौट तर्फ जिल्लामै विशेष प्रगति भएको जनाएको छ । गाउँपालिकाले ५९ लाख आन्तरिक आम्दानी भएको बताउँदै ६७ प्रतिशत बेरुजु संम्परीक्षण भएको जनाएको छ । गाउँपालिकाले वर्षभरिमा ४ सय २२ वटा योजनाहरू सञ्चालन भएको र १७ किलोमिटर कालोपत्रे गरेको, १५ शैययाको अस्पताल र प्रशासनिक भवनको कामथालनी भएको जनाएको छ । स्वास्थ्यतर्फ १० वटा स्वास्थ्य संस्था, २८ गाउँघर क्लिनिक र २५ वटा खोप क्लिनिकबाट पोषण, सुरक्षित मातृत्व, स्वास्थ्य उपचार, औषधि वितरण लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । उनले स्वास्थ्य शाखातर्फ ६३ जना कर्मचारी, ७७ स्वयंसेवीकाबाट समुदायमा सेवा प्रभाव भएको जानकारी दिए । गाउँपालिकामा पछिल्लो समय कडा खालका दीर्घरोगीको संख्या बढ्दो रहेकाले स्वास्थ्य सेवातर्फ थप चुनौती थपिएको अधिकारीले बताए । गाउँपालिकमा गत आर्थिक वर्षमा बसाई सराईको संख्यामा वृद्धि भएको, कृषि, पशुसेवा तर्फ मागमा आधारित कार्यक्रमलाई प्रभावकारी व्यवस्थापन गर्न नसकिएको र पशु सेवा प्राविधिकको जनशक्ति कमी भएको जनाइएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले समग्रमा आर्थिक वर्ष २०७८/०७९ उपलब्धीमूलक रहेको भन्दै चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा गर्न नसकिएका विकास निर्माण तथा सेवाप्रवाहलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने बताईन् ।

चिदीले सामाजिक विकासका लागि जनप्रतिनिधिहरूको साझा साथ रहने भन्दै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न आग्रह गरिन् । गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले व्यवस्थित ढङ्गले योजना बनाएर परिणाम देखिने गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिए । गाउँपालिकाको समृद्धिको लागि सबैले हातेमालो गरेर स्थानीय सरकारको अनुभूति दिनेगरी कार्यसम्पादनमा लाग्न पाठकले कर्मचारीलाई आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले प्रगति समिक्षाले सेवा प्रवाह प्रभावकारिता र सुशासन वृद्धिमा सघाउ पुर्‍याउने भएकाले पालिकाले समिक्षा कार्यक्रमलाई नियमित गर्दै आएको बताए । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापा, पत्रकार महासघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी, बगनासकाली पत्रकार समूहका नेत्र गैरे लगायतले जनप्रतिनिधि र कर्मचारी सहितको साझा बसाई उपलब्धिमूलक र सार्थक रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update