Shittalpati
पाल्पामा यसरी मनाइयो २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

पाल्पा । पाल्पा लगायत देशभर २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, विश्वहिन्दु महासंघ नेपाल पाल्पा र स्वतन्त्र नागरिक अभियानको संयुक्त आयोजनामा तानसेनको शित्तलपाटीमा कार्यक्रम भएको थियो । कार्यक्रममा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शालिकमा माल्यार्पणसँगै पुष्पगुच्छा अर्पण गरिएको थियो । दिवसको अवसरमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य डुल बहादुर कुंवरले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारलाई आग्रह गरेका छन् । शाहाको योगदानलाई राजनीतिसँग मात्र जोडेर हेर्न नहुने उनले बताए । कुंवरले राष्ट्र निर्माणमा शाहको योगदान राजनीतिक व्यवस्था भन्दा धेरै माथि रहेको धारणा व्यक्त गरे । केही नेताहरुको व्यक्तिगत स्वार्थका कारण देश अस्थिरता तर्फ धकेलिएको भन्दै उनले अब जनताले उनीहरुलाई ठेगान लगाउने बताए । देशमा सुशासन, राजनितिक स्थिरताका लागि अब हिन्दु धर्म, राजसंस्था र संघीयता बिच जनमत संग्रह गर्नुपर्नेमा नेता कुंवरले जोड दिए ।

कार्यक्रममा राप्रपा पाल्पाका अध्यक्ष रेवन्त बहादुर विष्ट, विश्व हिन्दु महासंघका सचिव कमल पौडेल, विश्व हिन्दु महासंघका पूर्व केन्द्रीय सदस्य विश्वराज पौडेल, नागरिक अभियानका जयन्ती घिमिरे लगायतले नेपाल एकिकरणमा पृथ्वी नारायण शाहाको योगदान अतुलनिय रहेको भन्दै राजनितिक दलका नेताहरुले पनि शाहको योगदानको अनुसरण गर्न आग्रह गरे । कार्यक्रममा सयौंको संख्यामा नागरिकहरुको स्वतस्फूर्त सहभागिता रहेको थियो । विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष रामहरी अर्यालको अध्यक्षता, राप्रपाका जिल्ला सचिव हरिप्रसाद बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । वि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । उनको योगदानलाई कदर गर्दै सोमबार देशैभर उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी दिवस मनाईएको हो ।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update